नेपाल चिकित्सक संघले गिरफ्तार गरिएका सम्पूर्ण चिकित्सकहरूलाई बिनासर्त तुरुन्त रिहा गर्न माग गरेको छ।
नेपाल सरकारले चिकित्सकहरूको समायोजनका सम्बन्धमा गरिएको विवादास्पद निर्णयविरूद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिइरहेका देशभरका सरकारी चिकित्सकहरूमाथि मन्त्रालयको प्रांगणभित्र नै प्रहरी लगाई दमन गर्ने, धरपकड गर्ने तथा हातपात गर्दै गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न संघले माग गरेको हो।
यसका साथै संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा आवश्यकता अनुसार स्थानीय तथा प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा चिकित्सक खटाउन माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकहरूको ज्ञान, क्षमता र वृत्तिविकासका लागि संघमा आउनुपर्ने भएको हुनाले संघ अन्तर्गत पुल दरबन्दी कायम गरी आवश्यकता अनुसार स्थानीय तथा प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा चिकित्सकहरूलाई खटाउन नेपाल चिकित्सक संघ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पुनः अनुरोध गर्दछ।’
माग पूरा नगरे संघले देशभर विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।