प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टि पोख्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।
शनिबार १४ जना एसएसपीको बढुवा हुँदा छुटेपछि उप्रेतीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन्।
उनको राजीनामाबारे निर्णयार्थ प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाउने तयारी गरेको छ।
एसएसपी बढुवामा आवश्यक अंक नपुगेका कारण उनलाई समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृहको भनाइ छ।
‘बढुवामा अन्याय भयो। तर, केही गुनासो छैन। मैले स्वतन्त्र जीवन जिउने निर्णय गरेँ। सरकारको निर्णय, संगठनले निर्णय मान्छु। जागिर खाने नखाने मेरो कुरा हो,’ उप्रेतीले भने।
२४ वर्ष संगठनमा बिताउँदा खुसी रहँदारहँदै पनि शनिबारको निर्णयले आफूलाई मर्माहत बनाएको उप्रेतीले दुखेसो पोखे।
‘संगठन र सरकारले कमजोर भनेपछि पदमा बस्न मन लागेन,’ उप्रेतीले भने, ‘म हिजोसम्म खुसी थिएँ, अब संस्थाभित्र बसेर खुसी हुन सक्दिनँ भन्ने लाग्यो र राजीनामा दिएँ।’
आगामी दिनमा प्रहरी संगठनकै हितमा काम गर्ने बताउँदै उप्रेतीले स्वतन्त्र जीवन बिताउन चाहेको बताए।
उप्रेती महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।
शनिबार राति गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो।
बढुवासूचीमै रहे पनि अंक नपुगेका कारण उनको नाम समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृह स्रोतले बतायो।
‘चार वर्षको कार्यसम्पादन मूल्यांकनमा उहाँको दुई वर्ष सन्तोषजनक देखिएको थिएन, अंक पुगेन,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘उहाँसँग बाँकी छ वर्ष थियो, यसअवधिमा थुप्रै अवसर हुन्थे, राजीनामा नै अन्तिम विकल्प थिएन।’