ईलाका प्रहरी कार्यालय बुटवलले चोरीको सुनका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
शनिबार साँझ तिलोत्तमा नगरपालिका वडा नं. ३ ड्राइभर टोलबाट चोरी भएका सुनका गरगहनासहित कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षीय को दीपक थापा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
गुल्मी धुर्कोट गाउँपालिका वडा नं. ५ घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने सुरेश शर्माको कोठाबाट उक्त सुनको गरगहना चोरी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए।
प्रहरीले पक्राउ परेका गुरुङको साथबाट ८ तोलाभन्दा बढी सुनका गरगहना बरामद गरेको जनाएको छ।
प्रहरीले गुरुङको साथबाट सुनको बाला २ थान, सुनको हार १ थान, चन्द्रमा १ थान, औंठी १ थान, जन्तर १ थान, कालो मालाको पोतेको झुम्का १ थान, चाँदीको सिक्री १ थान र १ थान डिजिटल घडी समेत बरामद गरेको जनाएको छ ।
पछिल्लो समय रुपन्देहीमा सुनका गरगहना चोरी गर्ने गिरोहको बिगबिगी बढेको प्रहरीले जनाएको छ।
यसअघि गत हप्ता पत्रकार यमलाल भुसालको तिलोत्तमा नयाँमिलस्थित घरबाट पनि आठ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको थियो।
यता, रुपन्देहीको भैरहवाबाट चोरी भएको मोटरसाइकलसहित रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत माघ १८ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहनास्थित सन्तोषकुमार पाठकको घरभित्रबाट चोरी भएको लु २८ प ४९१३ नं. को मोटरसाइकलसहित सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का २६ वर्षीय विक्रम घर्ती मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।