मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीसँग ठेक्का सम्झौता रद्द गरेसँगै मेलम्ची विकास समितिले दुइटा विकल्प तयार पारेको छ।
मेलम्चीमै काम गरिरहेका उपठेकेदार कम्पनीलाई बाँकी काम दिने वा नयाँ ठेक्का आह्वान गर्ने दुबै विकल्प अपनाउन तयार रहेको समितिले जनाएको हो। तर, खानेपानी मन्त्रालयले दुबै विकल्पमा निर्णय दिन सकेको छैन।
समितिका अनुसार बहुचर्चित मेलम्ची खानेपानी आयोजनालाई द्रूत अगाडि बढाउन त्यहीँ काम गरिरहेका उपठेकेदार कम्पनी सजिलो विकल्प ठानिएको छ।
नयाँ ठेक्का आह्वान गर्दा मेलम्चीको समय लम्बिने भएकाले पहिलो विकल्प उपयुक्त हुने समितिको राय छ।
तर, निर्णयकर्ता अन्तिम हुने भएका कारण दुबै विकल्पको अन्तिम खानेपानी मन्त्रालय नै हुने समितिले जनायो।
‘हामी दुबै विकल्पमा मेलम्चीको बाँकी काम अगाडि बढाउन तयार छौं,’ मेलम्ची विकास समितिका प्रमुख सूर्यराज कँडेलले सेतोपाटीसँग भने, ‘तर, खानेपानी मन्त्रालयको निर्णय अन्तिम हुन्छ, निर्णय पर्खेर बसेका छौं।’ खानेपानी मन्त्रालयले निर्णय गरिनसकेकाले कुन विकल्प अपनाउनेबारे आफूहरू अन्यौलमा परेको उनले बताए।
मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मेलम्चीको बाँकी कामको विकल्प खोज्न थालिएको बताए। तर, के विकल्प उपयुक्त हुन्छ भन्नेमा उनले अनभिज्ञता जनाए।
‘मेलम्चीको बाँकी कामबारे विकल्प खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘के गर्ने ठोस निर्णय हुन सकेको छैन। मेलम्चीको कामको जिम्मा लिएको अधिकारसम्पन्न मेलम्ची विकास बोर्ड हो, त्यसले निर्णय गरेपछि बल्ल त्यो कार्यान्वयन हुँदै मन्त्रालयमा आउँछ।’
बोर्डको अध्यक्ष खानेपानी मन्त्रालयका सचिव हुन्।
सचिव गजेन्द्र ठाकुरले मेलम्चीबारे तत्काल केही निर्णय भइनसकेको बताए। ‘ठेक्का रद्द भएको छ, केही निर्णय भइसकेको छैन, हामी उपयुक्त विकल्प खोजेर मन्त्रिपरिषदमा राय लैजान्छौं,’ उनले भने।
नयाँ ठेक्का आह्वान गर्दा समय लाग्ने भएकाले मेलम्चीमै काम गरिरहेका उपठेकेदार कम्पनी विकल्प हुने प्रधानमन्त्री कार्यालयको सुझाव छ।
प्रधानमन्त्री कार्यालयका एक सचिवले भने, ‘अहिले मेलम्चीको पानी कसरी छिटो राजधानी झार्न सकिन्छ भन्ने हो। बाँकी काम उपठेकेदार कम्पनीलाई दिए उपयुक्त हुन्छ।’
मेलम्ची विकास समितिले सिएमसीसँग गत बिहीबार ठेक्का रद्दको औपचारिक निर्णय गरेको थियो।
त्यसअघि जारी गरिएको दुई साताको सूचनाभित्र सिएमसी काममा नफर्किएकाले समितिले ठेक्का तोडेको निर्णय गरेको थियो।
मेलम्चीको बाँकी काम पूरा गर्ने भन्दै सिएमसीका कर्मचारी इटाली फर्किएका थिए। तर, लामो समय बित्दा पनि नफर्केपछि विकास समितिले १४ दिनको समय दिँदै उक्त समयमा काममा नआए ठेक्का रद्द गर्ने सूचना जारी गरेको थियो। गत डिसेम्बरमा काम छोडेर सिएमसीका कर्मचारी इटाली भाग्न खोजेका थिए। त्यसपछि समिति र खानेपानी मन्त्रालयले सिएमसीको दुई अर्ब धरौटी रकम बैंकबाट रोक्का गरेको थियो। धरौटी रकम रोक्का भएपछि काममा फर्किने भन्दै सिएमसीले केही समय मागेको थियो। सो समयमा पनि सिएमसी आएन र समितिले सूचना जारी गर्दै समय दिएको थियो।