हृदयाघात भएर नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सकारात्मक सुधार आएको छ। अस्पतालका अनुसार शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार आएकाले आज डिस्चार्ज दिने तयारी छ।
शाहलाई आज दिउँसो डेढ बजे डिस्चार्ज दिने तयारी रहेको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले बताए।
हृदयाघात भई सोमबार अस्पताल भर्ना भएका शाहको पूर्णतया बन्द रहेको मुटुको एन्जियोप्लास्टी गरी स्टेन्ट राखिएको थियो। आइसियू कक्षबाट उनलाई बुधबार सिसियू सारिएको थियो।
बुधबारबाट शाह बोल्ने, हिँडडुल गर्न सक्ने, खाना खान सक्ने भएका थिए। उपचारमा संलग्न चिकित्सकले शाहलाई निरन्तर डाक्टरको परामर्शमा रहन आग्रह गरेका छन्।
शाहलाई तेस्रोपटक हृदयाघात भएको हो। उनलाई चिकित्सकले जीवनशैलीमा सुधार ल्याउन, औषधी नियमित सेवन गर्न, सकारात्मक सोच राख्न र सम्पर्कमा रहिरहन आग्रह गरेको नर्भिक स्रोतले जनाएको छ।
शाह भद्दा जीवनशैली अपनाउने व्यक्ति हुन्। यहीकारण उनले दुई पटक हृदयाघातको सामना गरेका थिए। शाहले केही समयदेखि नियमित औषधी सेवन गर्न छोडेका थिए।