पश्चिमी वायूको प्रभावले देशका अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ।
राजधानी काठमाडौं उपत्यकामा पनि मंगलबार रातिदेखि भएको वर्षा जारी छ। झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरि नै राजधानीमा बादल लाग्नेछ भने दिउँसो केहीबेर रोकिए पनि साँझ फेरि पानी पर्नेछ।
‘दिउँसो केहीबेर पानी रोकिए पनि बेलुका फेरि वर्षा हुनेछ,’ महाशाखाकी बरिष्ठ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘बिहीबार पानी पर्ने सम्भावना छैन तर बादल भने लाग्नेछ।’
उनका अनुसार शुक्रबार फेरि राजधानीमा वर्षा हुने सम्भावना छ।
‘अहिले वर्षा भइरहेको पश्चिमी वायू नसकिदै अर्को वायू आउने क्रममा छ, त्यसले पश्चिमी क्षेत्रमा भोलि र मध्यक्षेत्रमा शुक्रबार वर्षा गराउनेछ,’ नगरकोटीले भनिन्, ‘यसरी हेर्दा शनिबारसम्म राजधानी बादल लाग्ने देखिन्छ।’
काठमाडौंमा बुधबार बिहान ९ बजेसम्म १०.१ मिलिलिटर वर्षा मापन भएको छ। वर्षा भए पनि आजको न्यूनतम तापक्रम भने ८.१ डिग्री सेल्सियस पुगेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:
माघ ९ गते (बुधबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदलि हुनेछ। पश्चिमी क्षेत्रका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। साथै देशको हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ।
रातिः देशभर सामान्यतया बदली हुनेछ। पश्चिमि क्षेत्रका केही स्थानहरूमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशको हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ।
माघ १० गते (बिहिबार)
दिउँसो: देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ।
रातिः देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ११ गते (शुक्रबार)
दिउँसो: देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरूमा र मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा सामान्य देखि पूर्ण बदली हुनेछ। पश्चिमि क्षेत्रका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। साथै देशको हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ।
रातिः देशभर सामान्यतया बदली हुनेछ। पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। साथै देशको हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ।