नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदिबहिनीहरू निर्दोष रहेको स्पष्ट पारेका छन्।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालको प्रचलित कानुन र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन। मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरू नआइदिएको भए हुन्थ्योजस्तो लाग्छ । नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरूको विरूद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरू निर्दोष हुन। यो कुरा मैले भन्नैपर्छ।’
साथै, निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्।
उनले भने,‘यो प्रकरणमा हाम्रो संगठनले मेहेनत र इमानदारितापूर्वक अनुसन्धान गरिरहेको छ। यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो। हामीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौं।’
प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे।
यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ। उनले थपे,‘कतैबाट कसैलाई बचाउने अथवा कसैलाई फसाउने नियतले त यो आएको होइन ?’
कहिलेसम्म दोषी पत्ता लगाउनुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘अब अनुसन्धान पूरा जुन दिन हुन्छ, त्यही दिन सार्वजनिक गर्छौं। हामीलाई त यति हतार छ कि तथ्य आउनासाथ हामी सार्वजनिक गर्छौं।’