महानगरीय प्रहरी प्रभाग नागढुंगाले प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगा प्रमुख ज्ञान बहादुर खड्काको नेतृत्वको टोलीले छुट्टाछुट्टै यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अवैध लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८३२३ को यात्रुबाहक बसलाई चेक जाँच गर्दा काठमाडौं गोकर्णेश्वर न.पा ७ घर हुुने २२ वर्षीय विजय भारतीको साथबाट झोलाभित्र लुकाइछिपाइ लिई आएको लागुऔषध नाइट्राभेट १५० ट्याबलेटसहित पक्राउ गरेको छ।
यस्तै, पक्राउ पर्नेमा बुढानिलकण्ठ घर हुने २१ वर्षीय सुदिप ठकुरी र २१ वर्षीय राज गिरी रहेका छन्। उनीहरूको साथबाट लागुऔषध डाइजेपाम २५ एम्पल, फेनारगन २५ एम्पल र नुफिन २५ एम्पल बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ६५४४ को यात्रुबाहक बस गाडी चेकजाँच गर्दा सोही बसमा सवार पर्सा पोखरिया न.पा ४ घर हुने १८ वर्षीय अभिनाश यादवको साथबाट नुफिन १०० एम्पल, डाइजेपाम १०० एम्पल, फेनारगन १०० एम्पल बरामद भएको छ।
यस्तै, धादिङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ११८० नम्बरको यात्रुबाहक बसबाट धादिङ ५ का १८ वर्षीय रमेश तामाङको साथबाट १ केजी चरेससहित पक्राउ गरिएको थानकोट प्रहरीले जनाएको छ।