अस्थायी र करारमा कार्यरत शिक्षकहरूले आफूहरूको रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै सरकारलाई दबाब दिन सुरू गरेका छन्।
अस्थायी, करार शिक्षक संघर्ष समितिले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर आफूहरूको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिन सुरू गरेका हुन्।
रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरूलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई दबाब दिन सम्बन्धित निकायमा पुनः धर्नासहितको आन्दोलनको कार्यक्रम सुरू गरिएको संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईँले जानकारी दिए।
संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरूलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटकपटक सो परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
अस्थायी तथा करारमा रहेका शिक्षकहरूले आफूहरूलाई स्थायी गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पटकपटक ज्ञापनपत्र बुझाएका छन्।
फेरि एक पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर माग सम्बोधन गराउन आग्रह गर्ने उनीहरूको योजना छ। आफूहरूको माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायतका आन्दोलनको कार्यक्रम जारी राख्ने पनि संघर्ष समितिका संयोजक चौलागाईँले बताए।