सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले काठमाडौंको बानेश्वरमा मैनबत्ती बालेर डाक्टर गोविन्द केसीको समर्थन गर्दै सरकारविरूद्ध सांकेतिक विरोध प्रदर्शन गरेको छ।
सत्याग्रहरत डा गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि देशका विभिन्न ठाउँमा कार्यक्रमहरु भइरहेका छन् । त्यसमध्ये आज साँझ काठमाडौंको बानेश्वरमा प्रदर्शनकारीहरुले मैनबत्ती बालेर ‘समाजवाद’ र ‘सरकारको नैतिकता’को खोजी गरेका छन् ।
साथै यसैबीच काठमाडौं बाहिर पनि विभिन्न शहरहरुमा दबाबका लागि प्रदर्शनहरु शुरु भएका छन् ।
पोखराको चिप्लेढुंगामा बुद्धिजीवी, युवा तथा नागरिकहरुले प्रदर्शन गरेका छन् भने भरतपुरको चौबीसकोठी चोकमा सोलिडारिटी फर डा केसी अलायन्स चितवनले पुष २८ गतेदेखि नै दैनिक साँझ ५ बजे आधा घण्टाका लागि नियमित प्रदर्शन गरिरहेको छ ।
त्यस्तै धनगढीका युवाहरुले पनि आजदेखि नियमित सडक प्रदर्शन शुरु गरेका छन् । यस अघि नै इलाम र धरानलगायतका ठाउँहरुमा डा केसीको पक्षमा प्रदर्शनहरु शुरु भइसकेका छन् ।
‘मैनबत्ती बाल्दै खोजी समाजवादको, खोजी नैतिकताको’ नाराका साथ सोमबार साँझ अलाइन्सले मैनबत्ती बाल्दै नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि सांकेतिक विरोध प्रदर्शन गरेको हो।
समितिले तयार पारेको विधेयकमा आफूसँग भएको सम्झौताविपरीतका व्यवस्थाहरू रहेको भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसनरत छन्।
अनसनको १३ औं दिन बितिसक्दा पनि सरकारले केसीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन। केही दिनअघि आफूले संसदलाई डाक्टर केसीसँगको सम्झौताअनुसार कानुन बनाउन आदेश दिन नसक्ने बताएका बताएका प्रधानमन्त्री केपी शर्मा ओली झन्डै साता दिन लामो स्वीट्जरल्याण्ड भ्रमणका लागि गएका छन्।
डाक्टर केसीले भने आफ्नो माग पूरा नभएसम्म अनसन जारी रहने बताएका छन्।
अनसनरत डाक्टर गोविन्द केसीका मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले आज चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको थियो तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई केन्द्र मातहत राख्न माग गर्दै संसद अवरूद्ध गर्यो र बैठक बस्न सकेन।
नेकपा केसी अनसन बेवास्ता गर्दै र कांग्रेसलाई पेलेरै भए पनि चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने निष्कर्षमा पुगेको छ।