पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्।
अभियुक्तद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ।
त्यस्तै, दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औंठी किनेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ।
लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जंगलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो। तत्काल हेटौंडा अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो। विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आएका ढकाल रेडियो अनमोलमा कार्यरत थिए।