चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक आमरण अनशन बसिरहेका डाक्टर गोविन्द केसीका समर्थकहरूले शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।
चिकित्सा शिक्षामा ‘लुटतन्त्र’ र व्यापार भएको विरोध गर्दै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले राष्ट्रिय झन्डा र विभिन्न नारा लेखिएको पम्प्लेट लिएर सरकारविर"द्ध प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘जिकेसीलाई कष्ट माफियालाई नष्ट, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, चरेशको थालमा मार्सीको भात कहाँ गयो तिम्रो समाजवाद?, कान खोली सुन ओली र प्रचण्ड तिम्रो मार्सी भातले समाजवाद आउँदैन, चारैतिर प्रष्ट छ दुईतिहाइ सरकार भष्ट छ, माफियाको मिसन सिटामलमा कमिसन, माफियाको ताँती ओली सरकारका साथी, तीन करोड नेपालीलाई धोका दिने कहिलेसम्म?, काममा समाजवाद शिक्षामा व्यापारलगायत नारा लगाए।
उनीहरूले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीसँग विगतमा गरेका सम्झौता चिकित्सा शिक्षा विधेयक तयार गर्दा उल्लंघन गरिएकोले संशोधन गर्न ध्यानाकर्षण गराए।
प्रतिपक्षमा रहँदा दुई वर्षअघि डाक्टर केसीको समर्थनमा उभिएका नेकपा सांसद योगेश भट्टराई अहिले केसीको कटु आलोचक बनेको पनि उनीहरूको भनाइ छ।
‘केसीको विपक्षमा नेकपा सांसद उभिएकोले उनीहरूको वास्तविक चरित्र छलंग भएको छ’, उनीहरूको भनाइ छ।
११ दिनदेखि आमरण अनशनरत डाक्टर केसीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उपचारको क्रममा पनि केसीले अनशन जारी राखेका छन्।
सबै तस्बिरहरू : निशा भण्डारी