आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनु पर्नेलगायतका माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई आज राति नै हेलिकप्टरमा काठमाडौं ल्याइने भएको छ।
९ दिनदेखि अनसनरत डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई राति नै काठमाडौं ल्याउन लागिएको हो।
'डाक्टरसाबले मान्नुभएको थिएन तर हामीले उहाँलाई राति नै काठमाडौं लिने निर्णय गरेका छौं,' डाक्टर केसीका सहयोगी अभिषेकराज सिंहले सेतोपाटीसँग भने,'उहाँ स्वास्थ्य जटिल भएकाले हेलिकप्टरमा लैजान कुरा भएको छ। हेलिकप्टरको व्यवस्थापन गर्दैछौं।'
आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिविका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमा केसीको अवस्था बुझ्न इलाम पुगेका थिए।
यसअघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले बुधबार डाक्टर केसीको स्वास्थ्य जाँच गरेका थिए। उनीहरूले डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या भएकाले उनलाई इलाममा राखिराख्नु खतरापूर्ण हुने सुझाव दिएका थिए।
‘जाँच गर्ने उपकरण पनि सँगै लिएर गएका थियौं। उहाँको शरीरको जाँचबुझ गर्दा स्वास्थ्यसम्बन्धी धेरै समस्या देखिए,’ बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रशान्त साहले सेतोपाटीसँग भने, ‘उहाँको हिजोको स्वास्थ्य अवस्थाबारे ९ बुँदा बनाएर बुझाएका छौं। के-के जटिलता आउन सक्छ भन्ने पत्र पनि अस्पताल र स्वास्थ्य मन्त्रालयलाई दिएका छौं।’
डाक्टर साहका अनुसार डा केसीको रगतमा चिनीको मात्रा निकै कम भएको छ।
‘उहाँको सुगरको लेभल ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा पनि कम छ। सामान्य मान्छेको सुगर ५० भन्दा कम भयो भने बेहोस हुने र दिमागले काम गर्न छाड्ने समस्या हुन्छ,’ डाक्टर साहले भने,‘पटक-पटक अनसनमा बसेर होला उहाँ अहिले पनि बोल्दै हुनुहुन्छ। तर कुनै पनि बेला उहाँको होस हराउन सक्छ। श्वासप्रश्वासमा बाधा आउन सक्छ।’
डा केसीको रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै गएको छ। सामान्यत: रगतमा अक्सिजनको स्याचुरेसन ९५ प्रतिशतभन्दा बढी हुनपर्छ तर केसीको रगतमा अक्सिजनको स्याचुरेसन ८० प्रतिशतको हाराहारीमा रहेको र घन्टैपिच्छे घटबढ भइरहेको डाक्टर साहले बताए।
उनकाअनुसार डा केसीको रगतमा अल्बुमिन ३.३ ग्राम प्रतिडेसीलिटर मात्र छ। सामान्य मानिसको शरीरमा अल्बुमिनको मात्रा ३.४ देखि ५.४ ग्राम प्रतिडेसीलिटर हुन्छ।
‘अल्बुमिनको कमीले उहाँको खुट्टा सुनिन थालेको छ। सेतो रक्त कोषिका (डब्लुबिसी) पनि क्रमश: घट्दै गएको देखियो। प्रोटिन र डब्लुबिसी पनि कम भएपछि शरिरमा संक्रमणको सम्भावना बढी हुन्छ,’ डाक्टर साहले भने, ‘यसले चाँडोचाँडो शरिरलाई अस्तव्यस्त पार्ने सम्भावना हुन्छ र निमोनिया हुन्छ।’
अनसन बस्नुअघि डा केसीले मुटुको धडकनका लागि एउटा औषधी खाइरहेका थिए।
‘अनसनका कारण छुटाउनुभएको रैछ। त्यसैले मुटुको धडकन अनियन्त्रित हुँदैछ। कहिले घटेर ३५ सम्म पुग्छ कहिले बढेर २०० सम्म हुन्छ,’ डाक्टर साहले भने,‘त्यसबाहेक अरू पनि समस्या छन्। उहाँको शरिरमा हानिकारक रसायन पनि थुप्रदै गएका छन्। त्यसलाई हामी टक्सिन भन्छौं। यिनले कुनै पनि बेला मुटुलाई फेल पार्ने सम्भावना हुन्छ।’
उनले डा केसीको स्वास्थ्य निकै जटिल भएकाले इलाममा राखिरहनु खतरापूर्ण हुने बताए।
‘इलाम अस्पतालमा पूर्वाधार पुग्दैन। बेहोस भयो भने श्वासप्रश्वासलाई नियमित गराउन भेन्टिलेटर चाहिन्छ। त्यहाँ भेन्टिलेटर कहिले हुन्छ, कसैले भन्न सक्दैन,’ डाक्टर साहले भने, ‘विशेषज्ञ टोली पठाएर पनि उहाँको उपचार गर्न गाह्रो छ। मुटुको धड्कनलाई मनिटरिङ नगरीकन मुटुका औषधी दिँदा जोखिममा हुन्छ।’
शरीर कमजोर भइसकेकाले यसपालि अनसनको छैठौं दिनमा केसीको स्वास्थ्यम धेरै नै समस्या देखिएको साहले बताए।
‘उहाँलाई धेरै जोखिम छ। समयमै उपचार पाउन र ज्यान जोखिममा नपार्न सुविधा सम्पन्न र सुरक्षित ठाउँमा लैजानुपर्छ,’ साहले भने।