पहिलो पटक सुरू गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव संकलन भएको छ।
काठमाडौं महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत मंसिर २६ गतेदेखि सुरू गरेका प्रतिस्पर्धामा हालसम्ममा ४५२ सुझाव प्राप्त भएको हो।
प्रतिस्पर्धाका लागि चार वटा विधा निर्धारण गरिएको र उक्त विषयमा नै सम्बन्धित रहेको सुझाव संकलन भएको कामपाको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए।
प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषय समेटिएका छन्।
उनका अनुसार काठमाडौंको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५’ सुरू गरेको हो।
कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगाना www.kathmanduchallenge.org मा लगअन गरी फारम भर्न खुला गरेको थियो। सचिव बस्नेतका अनुसार छनोट गरिएका सबै विषयमा सुझाव संकलनको पहिलो चरणको समय सकिएको छ।
पहिलो चरणमा आएका सुझावबाट विषयगतअनुसार उत्कृष्ट ठहर भएका मध्येबाट विषयगत २५/२५ वटा सुझावसहित १०० वटा सुझाव समावेश गरिनेछ।
प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ। सबै चरण समापन गर्न करिब छ महिनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ।
आगामी हप्ता ४५२ विषयअनुसार कुन/कुन सुझाव राखिने भन्नेबारे यकिन हुने सचिव बस्नेतले बताए। पहिलो चरणको सुझावको टुङ्ग्याउने र दोस्रो चरणको सुझाव संकलनको काम थालिने बताइएको छ।
नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई अन्तिम चरणमा पुरस्कारको व्यवस्थासमेत गरिएको छ। प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फारम भर्न सक्नेछ।
संकलन भएका सुझावबाट काठमाडौंको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ।