अहेवहरूलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै हेल्थ असिस्टेन्ट संघ, नेपाल(हान)ले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
संघले बुधबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै अहेवहरूलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दबाब दिएका हुन्।
शैक्षिक योग्यता र लोकसेवा आयोगको प्रक्रियाविपरीत उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहेवलाई स्वास्थ्य चौकीहरूको जिम्मेवारी दिने गरी दरबन्दी संरचनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा पेश गरेपछि त्यसको विरोधमा प्रदर्शन गर्नु परेको संघका सल्लाहकार गोविन्द गिरीले जानकारी दिए।
सरकारले सो प्रस्तावित दरबन्दी संरचनाबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसक्ने पनि बताएका छन्। उनीहरूले १० महिना तालिम लिएका अहेवहरूले स्वास्थ्य चौकीको नेतृत्व गर्नै नसक्ने पनि स्पष्ट पारेका छन्।
संघले योग्यतानै नपुगेकाहरूलाई अस्पतालको जिम्मेवारी दिने गरी दरबन्दी संरचना तयार पारेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिएको छ। प्रदर्शनकारीहरूले स्वास्थ्य सेवालाई झनै धराशायी बनाउने गरी सो दरबन्दी प्रस्ताव ल्याएको उल्लेख गर्दै सरकारविरूद्ध चर्को नाराबाजी समेत गरेका थिए।