१९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरूको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरिएको छ।
गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख विद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँगै उच्च अधिकारीको उपस्थितिमा सो स्मृति सभा सम्पन्न भएको हो।
‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ यस वर्षको नारा रहेको छ।
स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनुपर्ने बताए।
‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन्। त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नुपर्ने अवस्था छ। यो अवस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो’,उनले भने।
सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गरे।
‘अब महानगरसँग स्वीकृति नलिई कुनै पनि प्रकारका (चाहे सरकारी हुन् या निजी) भवन बनाउन पाइँदैन। हामीले नेपाली सेनाका भवनहरूलाई पनि प्रक्रियामा ल्याएका छौं। भूकम्प प्रभावितको नक्सा दस्तुरमा छुट दिएका छौं’, मेयर शाक्येले भने, ‘बरु नक्सा स्वीकृत गर्दा लाग्ने दस्तुरलाई अनुदानमा रूपान्तरण गर्न सक्छौं तर स्वीकृति नै नलिई भवन बनाउन दिन सक्दैनौं।’
महानगरले सम्भावित क्षति न्यूनीकरणका लागि वडास्तरीय विपद् क्षति व्यवस्थापन सीप सिकाइ र क्षमता विकास गर्ने कामलाई अघि बढाएको छ।
सोही अवसरमा गृहमन्त्री थापा र महानगरका मेयर शाक्यले संयुक्त रूपमा महानगरको विपद् व्यवस्थापन विभागले प्रकाशनमा ल्याएको आपतकालीन टेलिफोन सम्पर्क पुस्तिका सार्वजनिक गरे।