नयाँ चप्पल र नयाँ फ्रक लगाउन पाउँदा कुन केटाकेटी खुसी नहोला?
साढे ५ वर्षीया उर्मिला चौधरी पनि निकै खुसी थिइन्। त्यस दिन उनले जीवनमै पहिलोपटक नयाँ चप्पल र नयाँ फ्रक लगाएकी थिइन्।
उर्मिलाको नागरिकता उमेर ३२ वर्ष हो। खासमा २०४७ सालमा जन्मेकी हुन्। नागरिकता बनाउने सरकारी टोलीले उनको उचाइ हेरेर अन्दाजमा उमेर लेखिदियो। उर्मिला दाजु र दिदीभन्दा जेठी भइन्।
‘त्यतिबेला हामी खाली खुट्टै हिँड्ने गर्थिम्। मालिकका छोराछोरीले लगाएका झुत्रा कपडा लगाउँथिम्। नयाँ कपडा लगाउनु त सपनाजस्तै,’ उर्मिलाले आफ्नो बाल्यकाल स्मरण गरिन्।
त्यो दिन नयाँ चप्पल र फ्रक कसले किनिदियो उनलाई थाहा छैन। किन किनिदियो, त्यो भने अहिले बुझेकी छन्।
उनलाई नयाँ लुगामा सजाएर गढवाको मानपुर गाउँदेखि घोराही लगिँदै थियो। उर्मिला खुसीले उफ्रीउफ्री कुदेकी थिइन्। बाटोमा सबैभन्दा अगाडि दौडिएकी थिइन्।
‘हामी नौ जना थियौं । सबैभन्दा सानी मैं,’ उर्मिलाले भनिन्, ‘हामी सबै जना मालिकको घरमा कमैया-कमलरीका लागि जाँदै थियौं।’
त्यसअघि कहिलै गाउँबाट बाहिर नगएकी उर्मिलाको निम्ति त्यो कुनै उत्सव वा मेलाभन्दा कम थिएन।
यो २०५२ सालको कुरा। राप्तीमा पुल बनेकै थिएन। दाजुले उर्मिलालाई काँधमा बोकेर नदी पार गराएका थिए। कम्मरभन्दा माथिसम्म पानी थियो। उर्मिलाको नयाँ फ्रकको तल्लो किनारा पानीले भिजेको थियो। दाजुले फ्रक निचोरिदिएको उर्मिलालाई अझै सम्झना छ।
उर्मिलाले पहिलोपटक मोटरगाडी देखेको त्यही बेला हो। ‘गाउँमा साइकलसम्म देखेकी थिएँ, मोटरगाडी देखेको पहिलोपटक लमहीमै,’ उर्मिलाले भनिन्।
सायद त्यो मंसिर महिना थियो। उनीहरू लमहीबाट बस चढेर घोराही आए। एउटा भव्य विवाह समारोहमा सामेल भए। विवाहको मिठो परिकार खान पाउँदा उर्मिला मख्ख।
‘त्यो बिहे भोज निकै मिठो लागेको थियो। मैले औंला चाटीचाटी खाएकी थिएँ,’ उर्मिलाले भनिन्, ‘खाँदा फ्रकमा फोहोर लागेपछि रोएकी पनि थिएँ।’
जन्ती विदाइ गर्ने बेला दाजुले दुलहीसँगै बस चढेर काठमाडौं जान सुझाए। उर्मिलालाई दाजु र दिदी पनि सँगै जाने होला भन्ने लागेछ। जब अरू कोही नगएर उनलाई मात्र दुलही भएको बसमा राखियो, उनी 'एक्लै जान्नँ' भन्दै रून थालिन्।
बहिनी रूँदा दाजुले आँशु पुछ्दै फुल्याएका थिए। विदाइ गर्दा उनका दाजु पनि रोएछन्।
अबोध उर्मिलालाई थाहा थिएन, उनी दुलहीसँगै दाइजोमा काठमाडौं जान लागेकी हुन्।
त्यो समय घरमा कमलर-कमलरी राख्नु ठूलाबडाका लागि प्रतिष्ठाको विषय थियो। धनीका घरमा गरिबका चेलिबेटी बन्धकजस्तै राखिन्थे। गाउँका धनीमानी जमिन्दारहरू छोरीको विवाह गरेर पठाउँदा गरिबका छोराछोरी दाइजोका रूपमा सँगै पठाउँथे।
उर्मिला पनि त्यस्तै एक दाइजो थिइन्।
उनलाई पढाउने सर्तमा दुलहीसँगै काठमाडौं पठाउन अभिभावक राजी भएका थिए। सर्तअनुसार उर्मिला स्कुल जान पाइनन्।
उनले काठमाडौंका दुइटा घरमा गरी झन्डै १२ वर्ष कमलरी जीवन बिताइन्।
'ठूल्ठूला घर, मोटरगाडी र बिजुलीबत्तीको चहलपहल। मेरो लागि सबै नौलो,' उनले सम्झिइन्, 'खाना बनाउने, भाँडा माझ्ने, कपडा धुने, केटाकेटीलाई विद्यालय पुर्याउने सबै काम मैले गर्नुपर्थ्यो। मलाई नाम लिएर कसैले बोलाएनन्। सबैले ‘ए थरूनी’ भन्थे।'
यसबीच उनले आमाबाबु र आफन्तसँग भेट्न पाइनन्। न कुरा गर्नै पाइन्।
दिनरात नभनी काम गरे पनि जस नपाइने। बरू सजायकै भागीदार भइने। एकचोटि काम बिगार्दा जीउमा तातोपानी खन्याइएको उनी सम्झन्छिन्। अर्कोचोटि बिगार्दा छातीको भरमा लड्ने गरी धकेलिएको सम्झन्छिन्। अहिले पनि जाडोमा छाती सुल बनेर दुख्ने उनी बताउँछिन्।
‘म सधैं आँशु बगाउँदै तड्पिएर बाँचेँ,’ उर्मिलाले थपिन्, ‘कतिपटक आत्महत्याको प्रयास नगरेकी होइन, तर डर लाग्यो।’
आमाबाबु र दाजुहरूले पनि उर्मिलाको खोजी गरे। तर, जसको साथ लगाएर पठाएका थिए, उनीहरूबाट प्रस्ट खबर कहिल्यै पाएनन्।
२०६२/६३ को जनआन्दोलनपछि एक दिन टेलिभिजनमा ‘मुक्त कमलरी’ सम्बन्धी समाचार देखिन्। त्यो दाङकै बारेमा थियो। लुकिछिपी हेरेको समाचारमा उनले बर्को ओढेका आफ्नै दाजुलाई देखिन्।
आँशुले भिजेको नजर टिभीबाट हट्दै हटेन।
त्यसपछि बल्ल उनको आँखा खुल्यो। यतिका वर्ष आफूलाई गैरकानुनी बन्धक बनाइएको रहेछ भन्ने चाल पाइन्। उनी घरबाट बाहिर निस्कने उपायको खोजीमा लागिन्। साहुनीसँग बाहिर जाने जिद्दी गर्न थालिन्। नदिए घरभित्रै आत्महत्या गर्ने धम्की दिइन्।
जसोतसो घरबाट निस्केर सोधखोज गर्दै मुक्त कमलरी आन्दोलन भइरहेको ठाउँसम्म पुगिन्। त्यहीँ उनको दाजुसँग भेट भयो।
'हामी दाजुबहिनी खुब रोयौं,' उर्मिलाले भनिन्, 'दाजुले गाउँका सचिवको फोन नम्बर लेखेर दिनुभयो। मैले घर फर्केर सम्पर्क गरेँ। त्यसको केही दिनमै दाजु काठमाडौं लिन आउनुभयो।'
२०६३ माघ १ गते करिब १२ वर्षको कमलरी जीवनबाट उर्मिला मुक्त भइन्।
त्यति बेला गाउँमा कमलरी मुक्ति आन्दोलन चर्केको थियो। उनी गाउँ पुग्नेबित्तिकै आन्दोलनमा सहभागी हुन खोजिन्। आन्दोलनमा आएका उनकै उमेरका महिलाले सेतो गुन्यो र कालो चोली लगाएका थिए। उर्मिला भने पाइन्ट र भेस्टमा थिइन्। धेरैले उनलाई आन्दोलनमा प्रवेश नदिन खोजे।
उर्मिलाले भाँडा माझेर, लुगा धोएर सुन्निएका हात देखाइन्। त्यो उनको कमलरीको परिचय थियो।
राप्ती नदीमा पुल बनिसकेको थियो। उनीहरु मुक्ति आन्दोलनको नारा घन्काउँदै लमही र घोराहीसम्म पुगे।
त्यतिबेला उर्मिलालाई गाउँमा ‘औंठाछाप हिरोनी’ भन्दा रहेछन्। उनी लेखपढ गर्न जान्दैन थिइन्। पम्प्लेटमा लेखेको नारा अरूले पढेर सुनाउँथे। उनी त्यही याद गरेर नारा लगाउँथिन्।
उनको वजनदार आवाजले धेरैको ध्यान तान्यो।
उनले मुक्ति आन्दोलन क्रममा सडक नाटकसमेत खेलिन्। यतिका वर्ष कमलरी बस्दा आफ्नै मातृभाषा बिर्सिसकेकी थिइन्। विस्तारै त्यो पनि सिकिन्। पछि पढ्ने रहर भयो। उनी १७ वर्षको उमेरमा विद्यालय भर्ना भइन्।
सुरूमा दुई महिना गाउँकै घोडाहा भन्ने ठाउँको इइपी कक्षा (ब्रिज कोर्ष) मा पढिन्। त्यहाँ कखरा अक्षर र प्लस, माइनस चिह्न सिकेको उनी बताउँछिन्।
'साना नानीहरूबीच मलाई देख्नेहरू सुरूमा त शिक्षिका भनेर झुक्किन्थे,' उनले भनिन्।
दुई महिनापछि उनी गढवा जनता उच्च मावि भर्ना भइन्। कक्षा ३ र ४ एकैवर्ष पार गरिन्। पढाइ राम्रो भएको भन्दै त्यही वर्ष ५ कक्षामा भर्ना हुन पाइन्।
गाउँमा उनको उमेरका धेरैको बिहे भइसकेको थियो। उनीहरू नानीबाबु च्यापेर गृहस्थी जीवनमा लाग्दा उर्मिला भने विद्यालय जाँदै थिइन्। धेरैले उनलाई जिस्क्याउँथे। उर्मिलालाई भने कसैको मतबल थिएन।
कक्षामा उनी सबभन्दा ठूली थिइन्। अघिल्लो बेन्चमा दुई जना केटासँगै बस्न थालिन्। ती केटा कक्षामा प्रथम र दोस्रो विद्यार्थी थिए।
उर्मिलाले विद्यालयका हरेक गतिविधिमा भाग लिन थालिन्। नेतृत्वको खुबी थिँदै थियो, विस्तारै 'ग्रुप लिडर' बनिन्।
घोराहीमा भएको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितमा उर्मिलाको समूह पहिलो भयो। शिक्षकले प्रार्थना गर्दा उर्मिला लगायत तीनै जनालाई अगाडि राखेर तारिफ गरेपछि उनको मनोबल हलक्कै बढ्यो।
कक्षा ५ मा उनी तेस्रो भइन्। कक्षा ७ पुगेपछि प्रथम भइन्। त्यसपछि झनै हौसला बढ्यो।
मुक्त कमलरी भएकाले उर्मिलालाई छात्रवृत्ति प्राप्त हुन्थ्यो। घरको गरिबी त्यस्तै थियो। काम नगरी साँझ-बिहान खान नपुग्ने। उनी संघर्षशील थिइन्। थारू किशोरीले टाउकोमा भारी बोक्नुपर्थ्यो। उनले आँट गरेर टाउकोमा भारी नबोकी पुरूषहरूसँगै भट्टामा काम गर्न थालिन्।
उनको त्यो तस्बिर पत्रिकामा छापिएपछि निकै चर्चा कमायो। दुर्भाग्य उनी कक्षा १० पास हुन सकिनन्। त्यसपछि तुलसीपुरस्थित रक्षाचौर मावि भर्ना भइन्। त्यहीँबाट एसएलसी पास गरिन्। हाल घोराहीस्थित विद्यानिलकण्ठमा अध्ययनरत छिन्।
कक्षा १२ मा उनलाई अंग्रेजी विषय 'ब्याक' लागेको छ। तर, राम्रो अंग्रेजी बोल्न सक्छिन्। भन्छिन्, ‘सायद बोल्नु र लेख्नुमा धेरै फरक छ। त्यसैले म मज्जाले अंग्रेजी बोल्न सके पनि त्यही विषयमा ब्याक लाग्यो।’
आज उनको चर्चा युरोपियन देशहरूमा समेत फैलिएको छ। नर्वेको पत्रिकामा प्रोफाइल छापिएपछि चर्चा चुलिएको उनी बताउँछिन्।
त्यो प्रोफाइलले उनलाई पच्छ्याउँदै अन्य विदेशी पत्रकार पनि आए। कोही त उनको घरमा दर्जनौंपटक आए। महिनौं बसेर उनको सिनेमा बनाए। पुस्तक लेखे।
उनले नेदरल्यान्ड सरकार तर्फबाट ‘फ्रिडम फोरम फियर’ पुरस्कार पाएकी छन्। हालसम्म कुनै नेपालीले यो पुरस्कार पाएका थिएनन्। एसियन मुलुकमा पाकिस्तानकी मलाला युसुफलाई मात्र यो पुरस्कार प्राप्त छ। उनले जर्मनी सरकारबाट हेकर थ्रेटर पुरस्कार यसअघि नै प्राप्त गरिसकेकी छन्।
त्यसबाट उनले १० लाख रूपैयाँ पुरस्कार पाएकी थिइन्। त्यसमध्ये ४ लाख मुक्त कमलरी मञ्चलाई सहयोग दिएको उनले बताइन्।
उर्मिला चौधरी आज धेरैकी 'रोलमोडल' हुन्। देश-विदेश यात्रामा गइरहन्छिन्। कक्षा १२ पास गरेपछि बिहेको योजना रहेको उनी बताउँछिन्।
‘जातपात, धनी, गरिब, पढेलेखेकोभन्दा मेरो भावना बुझ्ने भए पुग्छ,’ उर्मिलाले हाँस्दै भनिन्।
दासत्वको प्रतीकका रूपमा लिइने कमलरी जीवन करिब १२ वर्ष बिताएकी उर्मिला आज पनि मुक्त कमलरीका बालबालिकाको शिक्षादिक्षा र अधिकारप्राप्तिको लडाइँमा निरन्तर लडिरहेको बताउँछिन्।
'मुक्त कमलरीका बालबालिकालाई स्वावलम्बी बनाउने प्राविधिक र सीपमूलक शिक्षामा जोड दिइरहेको छु,' उनले भनिन्।