यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह विविध कार्यक्रमका साथ ललितपुर महानगरपालिकामा आयोजना गरिने भएको छ।
साथै यस वर्षको नारा ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ तय गरिएको २१ औं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले जनाएको छ।
आउँदो माघ २ गते आयोजना गरिने भूकम्प सुरक्षा दिवसको राष्ट्रिय कार्यक्रमबारे जानकारी दिन आज शहरी विकास तथा भवन निर्माण विभागमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
माघ २ गतेको मूल समारोह कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो २ वजे जावलाखेलको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सभाहलमा हुने शहरी विकास तथा भवन निर्माण विभागका उप–प्रमुख पदम मैनालीले जानकारी दिए।
त्यसअघि मध्यान्ह १२ बजे गृहमन्त्रीको प्रमुख आतिथ्यतामा नेपालमा विपद् जोखिम व्यवस्थापनका सम्बन्धमा वृहत् अन्तक्र्रिया आयोजना गरिएको मैनालीले बताए।
यसका साथै बिहान ११:०० बजे पाटन दरवार क्षेत्रमा भूकम्प स्मृति सभा आयोजना हुनेछ । सभाअघि ललितपुर महानगरपालिकाका चार स्थान महानगरपालिका कार्यालय परिसर, बालकुमारी गुहीटोल, लगनखेल र शंखमुल गाःहिटीबाट छुट्टा छुट्टै भुकम्पीय सुरक्षा र्यालीको आयोजना हुने र ती र्याली पाटन दरवार क्षेत्रमा जम्मा हुनेछन् ।
देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यन्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक बर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
पत्रकार सम्मेलनमा वोल्दै शहरी विकास तथा भवन निर्माण विभाग उप प्रमुख मैनालीले देशमा संघीयता कार्यान्वयन भइसको अवस्थामा देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारी सम्बन्धी देशव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनै तहका सरकार मार्फत केन्द्र, जिल्ला, सबै स्थानीय तहमा सम्बन्धित विपद् व्यवस्थापन समितिको अग्ररसरतामा मनाउन लागिएको बताए।
मैनालीले विगत एक वर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा मुलुकले नीतिगत तथा कार्यक्रमगत तहमा उल्लेख्य प्रगति गरेको भन्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ लागु भएसंगै यस सम्बन्धी नीति निर्माण, कार्ययोजना तर्जुमा तथा कार्यान्वयन गर्ने अधिकार संघ, प्रदेश तथा स्थानीय तहमा रहेको र त्यसको कार्यान्वयनका लागि स्थानीय सरकार संचालन ऐन २०७४ले मार्गप्रशस्त गरेको र प्रचलित ऐन, नियम, कानुनले निर्दिष्ट गरे बमोजिम विपद जोखिम न्यूनीकरणलाई स्थानीय तहसम्म संस्थागत गर्न जोखिम न्यूनीकरण राष्ट्रिय नीति २०७५ र रणनैतिक कार्ययोजना २०१८—२०३० समेत लागु भएको जानकारी दिए।
कार्यक्रममा बोल्दै शहरी विकास तथा भवन निर्माण विभाग, भवन महाशाखा प्रमुख द्धारिका श्रेष्ठले देशको परिवर्तित प्रशासनिक संरचनाको आधारमा आगामी दिनमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तरिकामा परिवर्तन गर्दै लैजाने बताए।
भूकम्प सुरक्षा दिवसका सदस्य सचिव तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं उपत्यका तथा वाहिर आयोजना गरिने विविध कार्यक्रमबारे जानकारी गराएका थिए।
भूकम्प सुरक्षा दिवस राष्ट्रिय कार्यक्रम अन्तर्गत नै माघ ८ गते राष्ट्रिय गोष्ठीको आयोजना गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, ललितपुर महानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको संयुक्त आयोजनामा हुने राष्ट्रिय गोष्ठीमा विपद् जोखिम न्यूनीकरण र स्थानीयकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संचार माध्यमको भूमिका, रेट्रोफिट प्रविधि र उपयोगिताबारे छलफल हुने आयोजकहरुले जनाएका छन् ।