तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ।
मंगलबार बसेको कार्यपालिकाको ४८ औं बैठकले २० माइक्रोनभन्दा कम तौल भएका प्लाष्टिकजन्य पदार्थको प्रयोगमा रोक लगाउने निर्णय गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए।
वातावरणीय प्रभाव र प्रदूषणलाई कम गर्ने उद्धेश्यका साथ प्लाष्टिक र यसबाट बनेका वस्तुमा माघ १ गतेदेखि रोक लगाउने निर्णय भएको पाण्डेले बताए। त्यस्तै, बैठकले ७ लाखसम्मको योजना वडाले अनुगमन गर्ने र त्योभन्दा माथिका योजनाहरूको उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गर्ने निर्णय पनि पारित गरेको जानकारी दिए।
उपभोक्ता समितिले गर्ने योजनाको काममा ठूला उपकरण र साधनहरूको प्रयोग गर्दा उपमहानगरपालिकामार्फत् भाडाको टेण्डर गरेर मात्रै गर्ने निर्णय पनि भएको छ।
‘अब उपभोक्ता समितिले आफूखुसी उपकरण र साधन भाडामा लिएर प्रयोग गर्न पाउने छैनन्,’ नगरप्रमुख पाण्डेले भने ।