काठमाडौं महानगरपालिकाले पुरस्कार बाँडेरै करिब आधा करोड रकम सकाएको छ।
शनिबार महनागरपालिकाले आयोजना गरेको २४ औं महानगर दिवसका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्दा ४२ लाख ७४ हजार रूपैयाँ खर्च गरेको छ।
केहीलाई महनगरले बिना नगद सम्मान गरेको छ। पहिलो निर्वाचित सभापति जनकमान श्रेष्ठ, बहाल कर तर्फ वडा २६ का दया कुमारी पाण्डे र लक्ष्मी थपलिया पाण्डे, व्यवसाय कर तर्फ वडा नम्बर २२ को मार्ट बटु र वडा नम्बर ११ को पि एसोसियसनलाई बिना नगद सम्मान गरेको थियो।
त्यस्तै महानगरमा २५ वर्ष सेवा गर्ने निर्देशक शिवराज अधिकारी, नायब सुब्बा सुरेन्द्र शाक्य र मेकानिक विकास गुरूङलाई दीर्घ सेवा पदक दिइएको थियो। उनलाई नगद दिइएको थिएन।
नगद पुरस्कार पाउनेमा १ सय २१ वटा बाद्य समूहका गुरू र व्यक्तिगत तथा संस्थागत गरी १० जना पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो।
बाद्य समूहका गुरुलाई जनही २५ हजारको दरले सम्मान दिँदा महानगरको ३० लाख २५ हजार खर्च गरेको छ।
त्यस्तै व्यक्तिगत तथा संस्थागत तर्फ १० जना पत्रकारलाई जनही ५० हजार नगदसहित ‘महानगर शुशासन प्रवर्धन पुरस्कार २०७५’ दिँदा ५ लाख खर्च गरेको छ।
निवन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार गरि ३२ हजार, शिक्षकस्तरीय कवितामा विजेतालाई क्रमशः १५ हजार, १० हजार र ७ हजार गरि ३२ हजार, ‘मेरो काठमाडौं महानगर’ विषयमा देशव्यापी खुल्ला निवन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाइ क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद गरी १ लाख ५४ हजार खर्च भएको छ।
त्यस्तै महानगर भित्रका विद्यालयलाई ‘उत्कृष्ट विद्यालय पुरस्कार’ सामुदायीक तर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः१ लाख ५० हजार, ७५ हजार र ५० हजार दिइयो।
त्यस्तै ‘एउटा आधारभूत विद्यालयलाई ५० हजारले सम्मान गरियो।
त्यसैगरी निजी विद्यालय तर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १ लाख ५० हजार, ७५ हजार र ५० हजार दिइएको थियो।
यी सबै पुरस्कार र सम्मानको नगद हिसाव गर्दा महानगरले शनिबार कुल ४२ लाख ७४ हजारभन्दा बढी रकम खर्च गरेको छ।
महानगरको यो सम्मानलाई पैसाको रूपमा भन्दा पनि सम्मानको रुपमा हेर्नुपर्ने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादव प्रसाद कोइरालाले बताए।
‘यस प्रकारको सम्मानले काम गर्न अझै प्रेरित गर्छ। हामीले परम्परागत बाजाका गुरू, पत्रकार, विद्यार्थी, स्कुल आदिलाई सम्मान गरेका हौ, यो सम्मानले उहाँहरुलाई काम गर्न अझ उत्प्रेरित गर्छ’, उनले सेतोपाटीसँग भने, ‘यो आज भएको निर्णय होइन, नगरसभाले नीति तथा कार्यक्रममै गरेको व्यवस्था भएकोले त्यही अनुसार हामी काम मात्र गरेका हौ।’
यो रकम एकमुष्ट हेर्दा धेरै देखिए पनि पाउने ब्यक्तिलाई थोरै मात्र भएको प्रमुख प्रशाशकिय अधिकृत कोइरालाले जानकारी गराए।