काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालिएको छ।
आइतबारदेखि सुरू गरिएको कार्यक्रमको प्रभाव मूल्याङ्कन तथा थप तयारीका लागि सोमबार राष्ट्रिय सभा गृहमा बसेको महानगरका प्रमुख र उपप्रमुखसहितको बैठकले सो निष्कर्ष निकालेको हो।
बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘केही गुनासा पनि छन्। ती गुनासालाई सम्बोधन गरेर अघि बढ्नु पर्छ। सुधार गर्नुपर्ने काम धेरै छन् । यसमा हिजोको कार्यक्रमबाट प्राप्त भएको सिकाइबाट कार्यक्रमलाई निरन्तरता दिने र थप प्रभावकारी बनाउने दिशामा लाग्नु पर्छ।’
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले मूल सडकको किनारामा यात्रु ओराल्ने र उकाल्ने छुट्टै स्थान बनाएर अघि बढ्ने बताए।
काठमाडौंका सडकका व्यवस्थापन जिम्मेवारी काठमाडौं महानगरपालिकाले नै लिनुपर्छ, बैठकमा सडक विभागका प्रमुख रविन्द्र श्रेष्ठले काठमाडौंका सडकका व्यवस्थापन जिम्मेवारी काठमाडौं महानगरपालिकाले नै लिनुपर्ने बताए। उनले भने,‘सहरी राजमार्ग महानगरलाई हस्तान्तरण गर्न विभाग तयार छ।’
हिजो जमल क्षेत्रमा सवारी रोक्न नदिँदा त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटााहिटी कुनै पनि क्षेत्रमा सवारी जाम नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले अनुभव सुनाए।
यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंह, सडक विभागका सिनियर डिभिजन इञ्जिनियर दीप बाराहीसहितको बैठकले टुँडिखेल वरिपरि कुन ठाउँमा कुन सवारीले यात्रु चढाउन र ओराल्न पाउने हुन्, सूचना पाटी राख्ने, सडक संकेतलाई चहकिलो बनाउने र यसका लागि पहिले गठन गरिएको समितिलाई निरन्तरता दिने निर्णय गरेको छ।
काठमाडौंमा कुन सडकमा कति सवारी साधन सञ्चालित छन्? एकिन नहुनु, साना सवारीको संख्या अधिक हुनु जस कारण सहरका सवारी आवागमन व्यवस्थापन असजिलो भएको जनाउँदै ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारितालाई बढाउन यस्ता सूक्ष्म विषयका अध्ययन हुन जरुरी रहेको जनाइएको छ।