प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुने भएका छन्।
ज्यापू समुदायको संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समुदायको गरेको आग्रह प्रधानमन्त्री ओलीले स्वीकार गरेका हुन्।
ज्यापू संस्कृतिको झलक दिने बाजागाजा र पहिरनसहित सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू महागुठी नेपाल नेतृत्वको ज्यापू समुदायले ज्यापू संस्कृति अनुसार प्रधानमन्त्री ओलीलाई नेवारी पोशाकसहित सो दिवस समारोहमा सहभागी हुनका लागि नियन्त्रणा गरेका थिए। सोही नियन्त्रणा प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेका हुन्।
ज्यापू संस्कृति नेपालको राष्ट्रिय संस्कृति भएकाले यसको संरक्षण र संवर्द्धनमा मा सरकारको विशेष भूमिका हुने भएकाले सदाझैं यस वर्ष पनि ज्यापू दिवसमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको ज्यापू महागुठी नेपालका अध्यक्ष राजभाई नकर्मीले जानकारी दिए। सो दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आफूहरूको नियन्त्रणा स्वीकार गरेकोमा पनि अध्यक्ष नकर्मीले आभार व्यक्त गरे।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।
विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिब ६ लाख नागरिक छन । यसैबीच, ज्यापू संस्कृतिको संरक्षणका लागि बसन्तपुरमा ज्यापू संग्राहलय बनाउने योजना पनि अघि सारिएको छ ।