राजधानीको गोंगबु चक्रपथमा सडक विभागले खुला छोडेको खाल्डोमा परी एउटा निजी जीप (एसयूभी) दुर्घटनामा परेको छ।
सोमबार बिहान ८ बजे सामाखुसीबाट गोंगबुतिर जाँदै गरेको बा १४ च ९६३७ नम्बरको गाडी गोंगबु चोक पुग्न २० मिटर बाँकी रहँदै यु टर्न गरेर पुनः सामाखुसीतर्फ मोडिन खोज्दा सडक विभागले त्यतिकै छोडेको खाल्डोमा परेको थियो।
१० वर्षदेखि गाडी चलाउँदै आएका काठमाडौंका युद्ध बहादुर चौलागाई आफूले सडकको बिचमा रहेको अगाडिको खाल्डो नै नदेखेर दुर्घटनामा परेको बताए।
‘म दश वर्षदेखि गाडी चलाइरहेको छु, गाडी चलाउन नजानेर होइन। सडकको खाल्डो नै नदेखेर दुर्घटनामा परेँ,’ चालक चौलागाईँले सेतोपाटीसँग भने।
स्थानीयबासी विकास आचार्यका अनुसार सडक विभागले खनेर छोडेको खाल्डोमा परेर दुर्घटना भइरहेको जानकारी दिए।
उनले अब पनि यो खाल्डो नपुर्ने हो भने धेरै दुर्घटना हुने सचेत गराए। दुर्घटनामा परेको गाडीलाई प्रहरीले क्रेन ल्याएर खाल्डोबाट बाहिर निकालेको छ।
विभागले राजधानीका धेरै जसो ठाउँमा खाल्डो खनेर त्यसै छोड्ने गरेको छ। यसअघि पनि बल्खुमा सडक विभागले खुला छोडेको खाल्डोमा परेर साइकल यात्रीको मृत्यु भएको थियो। समयमै यस्ता खाल्डाहरू पुर्न सडक विभागले ध्यान दिएको पाइँदैन।