श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ ।
भारत विहार घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिएका हुन्।
सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटौंडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ ।
अभियुक्त रमजानमियाले आफ्नो श्रीमती २५ वर्षकी लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई हत्या गरेको छानविनका क्रममा पाइएको दावी गरिएको छ ।
घटना विवरणअनुसार मङ्सिर १८ गते हेटौँडा–१९ मा एक वर्षकी बालिका र २५ वर्षीय एक महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या श्रीमान् रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
मृतक खातुनबाट फेला परेको मोबाइल र डायरीबाट घटनाको विवरण सार्वजनिक भएको र सोही मोबाइलबाट मृतकका पिता मोतिहारी आधापुरथाना वडा नं ६ बस्ने आरिक मियाँको छोरा ४० वर्षीय अलियर मियाँले शव सनाखत गरी लगेको प्रहरीले जनाएको छ ।