नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारबाही तीव्र पारिएको छ। ट्राफिक प्रहरीले करिब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारबाही गरेको छ।
लगातार पाँच पटकसम्म कारबाही परेमा चालक अनुमतिपत्र ६ महिनाका लागि निलम्बन गर्न सकिने कानुनी व्यवस्थाअनुसार सो अभियान थालिएको प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको समन्वयमा मंसिर २० गतेबाट नियमविपरित चल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने योजनाअनुसार अभिलेख राख्न सुरू गरेको हो।
सो अभियानअन्तर्गत अहिलेसम्म ३०० बढी चालक कारबाहीमा परेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।
उनका अनुसार सबैभन्दा बढी खाली भएर पनि यात्रु चढाउन नमान्ने १८९ जना चालकलाई कारबाही गरिएको छ।
यस्तै भाडा मोलमोलाइ गर्ने ९८ जना, मिटर बिगार्ने र प्रयोजनविपरित प्रयोग गर्ने २० जनालाई कारबाही गरिएको सापकोटाले बताए।
मङ्सिर महिनाभरिमा भने ७६५ ट्याक्सी चालक कारबाहीमा परिसकेको उनको भनाइ छ।
निलम्बन प्रक्रियामा भने मङ्सिर २० गतेपछिको कारबाहीमा परेका ट्याक्सी चालकमा मात्र लागू हुनेछ। पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान सुरू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तको भनाइ छ ।
उनीहरूलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको छ। अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिएको छ।
पहिचान हुने बित्तिकै उनीहरूलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरूको अभिलेख राखिनेछ। लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिने प्रवक्ता सापकोटाले जानकारी दिए।