चक्रपथको कोटेश्वर कलंकी सडक निर्माण पूरा हुँदै गर्दा कलंकीदेखि महाराजगञ्ज सडकको अध्ययन सुरू भएको छ।
यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुंगो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए।
चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलंकी सडकजस्तै आठ लेनको हुने जानकारी दिँदै उनले भने, ‘मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्रयाक हुनेछ।’
सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण सुरू गरेको छ। सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैंले थप पुल निर्माण थालेको हो।
विभागको वैदेशिक महाशाखालले सडक निर्माणको विस्तृत अध्ययन गरिरहेको छ।
सहप्रवक्ता सिंहले भने, ‘डिजाइन रिपोर्ट आएपछि कुन–कुन ठाउँमा कसरी काम गर्ने भन्ने योजना बन्नेछ।’