अरनिको राजमार्गअन्तरगत सूर्यविनायकदेखि काभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्रयाक’ निर्माण कार्य आजदेखि सुरू भएको छ।
सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सवारी चाप हटाउन सर्भिस ट्रयाकले मद्दत पुग्ने बताउँदै दुर्घटना न्यूनीकरणसमेत हुने बताए।
सांसद बस्नेतले आगामी फागुनदेखि जापान सरकारले अरनिको राजमार्ग ८२ फिट फराकिलो बनाउने कार्य सुरू गर्ने भएकाले पनि ‘सर्भिस ट्रयाक’ खोल्नु अति आवश्यक रहेको बताए।
सूर्यविनायकदेखि धुलिखेलसम्म जापान सरकारले आगामी फागुनदेखि ६ लेन सडक निर्माण गर्ने भएपछि यसअघि सूर्यविनायक नगरपालिका–८ ले जगातेसम्म र काभ्रेको बनेपा नगरपालिकाले साँगासम्म सर्भिस ट्रयाक निर्माण गरिसकेको छ । सूर्यविनायक नगरपालिका–९ र १० क्षेत्रमा पर्ने जगाती, भातेढिकुर, बाँसघारी, नलिन्चोक, पलासे हुँदै भक्तपुर र काभ्रेको सीमानाको साँगासम्म सर्भिस ट्रयाक निर्माण कार्य सुरू भएको हो। कार्यक्रममा प्रदेशसभा सदस्य रजनी जोन्छेले विकास निर्माणमा कसैले अवरोध गर्न नहुने र सबैले सहयेग गर्नुपर्ने बताए।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बाटो निर्माणमा कुनै अवरोध नआउने बताउँदै सो निर्माण कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले विकासमा सबैको ऐक्यवद्धता हुने बताए।