७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
यसै अवसर पारेर सोमबार बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो।
काठमाडौंको भृकुटीमण्डपबाट सुरू गरिएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापण गरिएको थियो। प्रभातफेरी कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरूले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन्।
उनीहरूले महिला हत्या, हिंसालगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको पूर्णप्रत्याभूति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उनले मानव अधिकार हनन् कर्तामाथि कडा कारबाही गर्न पनि सरकारलाई पुनः सचेत गराए।
राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालका घटनामा पीडितलाई न्याय दिन सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ। त्यसैगरी, मानव अधिकारकर्मी सिताराम लामाले दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरे। उनले मानव अधिकारको प्रत्याभूति गराउने प्रतिवद्धताको पूर्ण पालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
महिला अधिकारकर्मी सुशीला श्रेष्ठले महिला हिंसा, हत्यालगायतका घटना तत्काल अन्त्य गर्न सरकारसँग आग्रह गरिन्। उनले महिला हत्या, हिंसामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न पनि सरकारलाई दबाब दिइन्।
प्रभातफेरीमा सहभागी भएका मानव अधिकारकर्मीहरूले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिएका छन्। उनीहरूले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन पनि आह्वान गरेका छन्।