ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन्।
कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए। प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफू नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित नभई सोनु भएको खुलेको थियो। कालिमाटी वृत्तका डीएसपी देबेन्द्रबहादुर पालका अनुसार पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक सोनु अग्रवाल रहेको खुलेको थियो।
सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री प्रमुख हुन्।
रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो। तर, सोनुले दाजुलाई भगाएर आफू नै रञ्जित भएको गलत बयान दिँएसँगै उनी पक्राउ परेका हुन्।
यस्तो छ विवादको चुरो
एइसीसी ग्लोबल नेपालीहरुले सञ्चालन गरेको विश्वब्यापी कम्पनी हो। जो झण्डै ९ वर्षको छोटो अवधिमा तिब्र गतिमा फैलिएको थियो ।
अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको यो कम्पनीका संस्थापक हुन् विद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेका सोनु अग्रवाल र सौरभ वैद्य।
केही महिना अगाडि दुई पार्टनरबिच सुरु भएको विवाद अहिले नेपालको अदालत र प्रहरीसम्म पुगेको छ ।
एईसीसी ग्लोबलको पार्टनरबाट सौरभले बिदा लिए पनि उनका भिनाजु एवम् तत्कालीन नेपाल प्रमुख सचिन उपाध्यायसँगको लेनदन विवाद चुलिएको थियो।
एईसीसीको नेपालस्थित कम्पनीको २५ प्रतिशत सेयर आफ्नो नाममा हुनुपर्ने सचिनको दाबी छ। सोनु, सौरभ, सचिन र रञ्जितबीच भएको करारनामा सम्झौतामा आफ्नो नाममा २५ प्रतिशत सेयर सुनिश्चित गरिएको भए पनि अहिले आएर आफूलाई सेयरबाट बिमुख गरिएको दावीसहित सचिनले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।
साथै स्टाफको तलव खुवाउन दशैं अगाडि दिएको १० लाख रुपैयाँको फिर्ता माग्दा आफ्नो हस्ताक्षर नै नचल्ने चेक दिएको भन्दै उनले बैंकिङ कसुरमा कारबाहीका लागि रञ्जित अग्रवालबिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।
पार्टनरसीप विवादका कारण नेपालबाट छोटो समयमा फैलिएको बहुराष्ट्रिय शिक्षा सेवा प्रदायक यो कम्पनी धारासायी हुने अवस्थामा पुगेको हो।
विवादका कारण काठमाडौंको अफिस केही साता बन्द रहेको थियो।