नवलपरासीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
नवलपरासी सुनवल नपा ४ ज्यामिरे अलकत्रे डाँडास्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट जाँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो मोटरसाइकलमा सवार दुईको उपचारको क्रममा मृत्यु भएको हो।
पोखरा लेखनाथ-१६ लामाचौर बस्ने ३० वर्षीय प्रविण गुरूङको उपचारको क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको र अर्का २६ वर्षीय विनोद बानियाँको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनाको क्रममा उक्त मोटरसाइकलमा आगलागी भइ पूर्णरूपमा जलेर नष्ट भएको छ।
ट्यांकर र ट्यांकरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।