दाङको घोराहीमा एक हार्डवयर व्यवसायीको हत्या भएको छ।
उधारोमा सामान किनेर घर बनाएका रोल्पा माडी गाउँपालिका ३ का २८ वर्षीय अमर खत्रीले घोराहीका ४५ वर्षीय हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीको गत बिहीबार हत्या गरेको प्रहरीले जनाएको छ।
रोल्पाका खत्रीले घोराहीमा गत भदौदेखि घर बनाउन सुरू गरेका थिए। खत्रीले घर बनाउने सामग्री घर्तीको पसलबाट उधारोमा लगेका थिए।
दुई लाख ५४ हजार रुपैयाँ तिर्नुको सट्टा खत्रीले व्यवसायी घर्तीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हार्डवयर सञ्चालक घर्तीको स्थायी घर पनि खत्रीको सँगै रोल्पा नै हो। एकै जिल्लाको भएकोले व्यवसायी घर्तीले खत्रीलाई घर बनाउने सामग्री उधारोमा दिएका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेका अनुसार खत्रीले घर्तीको हार्डवेयरबाट चार लाख चार हजार रुपैयाँको निर्माण सामग्री लगे पनि जम्मा एक लाख ५० हजार रुपैयाँमात्र भुक्तान गरेको देखिन्छ।
घर्तीले बाँकी रकमका लागि ताकेता गरेपछि खत्रीले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको हो।
‘एक जना दाइकोमा पैसा लिन जाम् भनेर खत्री व्यवसायी घर्तीकै पसलमा पुगेछन्। अलि पर एकान्तमा पुगेपछि खत्रीले व्यवसायी घर्तीको छातीमा चक्कु रोपेर हत्या गरेछन्,’ एसपी सिंहले भने, ‘घर्तीले प्रतिकार गर्दा खत्री पनि घाइते भएको देखिन्छ।’
घर बनाएको सामग्रीको बाँकी पैसा भुक्तान नगर्ने नियतले खत्रीले योजना बनाएरै व्यवसायी घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ। घर्ती घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कको पुल नजिकै माडी हार्डवयर चलाउँदै आएका थिए।
चक्कु प्रहारबाट सख्त घाइते घर्तीलाई स्थानीय बासिन्दाले बिहीबार बेलुकी घोराही १३ लामीडाँडास्थित दूधेसोतामा फेला पारेका थिए।
उपचारका लागि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगे पनि चिकित्सकहरूले मृत घोषणा गरिदिए। व्यवसायी घर्तीको शव आफन्तले बुझेका छैनन्।
हत्यामा अरु पनि संलग्न हुन सक्ने भएकोले पहिचान गरी कारबाही गर्न उनीहरुले प्रशासनसँग माग गरेका छन्। दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने घर्तीका आफन्तले बताउँदै आएका छन्।