सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी,उनका दुई दाजु र एक भाउजुलाई २२ दिन थुनामा राखेपछि उदयपुर जिल्ला अदालतले थुनाबाट मुक्त गर्न आदेश दिएको छ।
दाइभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कलीजन्मदर्ता गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पुर्जी र पटकपटक थुनामा राखि अनुसन्धानको म्याथ थप गरेको जिल्ला अदालतले २२ दिनपछि सोमबार उनीहरूलाई छोडिदिएको हो।
जिल्ला न्यायाधीश तिर्थ केसीको इजलासले गरेको आदेशमा श्रीमती राउतले र उनका दाजुभाउजुले अब अनुसन्धानमा कुनै वाधा गर्न नसक्ने भन्दै थुनाबाहिर राखेर अनुसन्धान गर्नु भन्ने उल्लेख छ।
'निजहरूलाई हिरासत नराखि अड्डाले खोजेको बखत उपस्थति गराउने शर्तमा मुद्दाको अनुसन्धान गर्न कुनै वाधा नदेखिँदा थप अवधि हिरासतमा नराखि अनुसन्धान गर्नुहोला भनि मिसिल र सक्कल कागजात सम्बन्धीत इलाका प्रहरी कार्यालय कटारीमा पठाइदिनु,' उक्त आदेशमा उल्लेख छ।
जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर वडा कार्यालयमा जन्मदर्ता गराएपछी न्यायाधीश राउतका बुवाले प्रहरीमा उजुरी दिएका थिए।
उनको उजुरीपछि प्रहरीले ललिता, उनका दुई दाजु र कान्छी भाउजुलाई पक्राउ गरेको थियो।
२०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन्। श्रीमानको सहमतिमै जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर जन्मदर्ता गराएको श्रीमति राउतको दाबी छ।
तर न्यायाधीश राउतले भने अर्कैको बच्चालाई जालझेल गरेर श्रीमतिले आफ्नो बनाएको बताउँदै आएका छन्।
न्यायाधीश राउतका बुवको उजुरीपछी २२ दिन थुनामा बसेपछी श्रीमति राउत अहिले माइतिमा छन्। यो घटनामा थप अनुसन्धान गरेर मुद्दा अदालत लैजाने कि नलैजाने निर्णय भने प्रहरीको हातमा छ।