अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलबाट हटाइएका ७६ जना कर्मचारी धर्ना बसेका छन्।
छापामार शैलीमा आफूहरूलाई हटाएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसेको कर्मचारी निशान्त शाक्यले बताए।
‘बिना जानकारी हामीलाई छापामार शैलीमा हटाएका छन्। यो अन्याय, अपमानजक र अमानवीय निर्णय हो। यसले नेपालको श्रम कानुनकै धज्जी उडाएको छ,’ कर्मचारी शाक्यले भने, ‘हाम्रो माग पूरा नभएसम्म कार्यालय समयमा धर्ना दिन्छौं।’
प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले ती कर्मचारीहरूलाई गत २४ अक्टोबरका दिन स्काइप बैठकबाट ३१ डिसेम्बर २०१८ बाट लागू हुनेगरी हटाएको घोषणा गरेका थिए।
हटाइएका कर्मचारीसँग भएको सम्झौतापत्रमा नियमित र स्थायी कर्मचारी भनी उल्लेख गरिएको छ। संस्थाले अन्यायपूर्ण ढंगबाट हटाएको भन्दै उनीहरूले श्रम, रोजगार तथा सामाजिक मन्त्रालय, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय ललितपुर लगायतको ध्यानाकर्षण गराएका छन्।
प्लान इन्टरनेशनलले भने कर्मचारी हटाउनुपर्ने कारणहरूमा ग्लोबल स्ट्राटेजी, कन्ट्री स्ट्राटेजी २०१८–२०२२ अवलम्बन गर्ने क्रममा कर्मचारी कटौती गर्नुपरेको जनाएको छ।