सरकारले सार्वजनिक बिदा कम गर्दै लगेको बेला स्थानीय सरकार भटाभट बिदा दिन अग्रसर भएको छ।
सरकारले सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरि ८९ दिन बिदा कायम गरेको छ। यसअघि वर्षभरिमा १०४ दिन बिदा हुँदै आएको थियो। तर स्थानीय सरकार ठीकविपरीतमा देखिएको हो।
चागुँनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा नगरपालिकाभित्र सरकारी बिदा दिएको छ। नगर प्रमुख सोमप्रसाद मिश्रले नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरू, सहकारी, शैक्षिक संस्थालगायतलाई सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।
‘चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण हो। एकादशीमा यहाँ ठूलो मेला लाग्छ। यो विश्व सम्पदा सूचीमा परेको मन्दिर हो। हाम्रो नगरपालिकाको नाम पनि यहीँ मन्दिरका कारण चाँगुनारायण भएको हो,’ प्रमुख मिश्रले भने, ‘यति महत्त्वपूर्ण मन्दिरमा एकादशीमा मेला लाग्दैछ। त्यसैले वर्षमा एकदिन किन बिदा नदिनु?’
किन बिदा दिने घोषणा गर्नुभएको? भन्ने प्रश्नमा उनले भने, ‘कानुनमा बिदा नदिन नभनेजस्तै। बिदा दिनेबारे पनि केही भनेको छैन। त्यसैले हामीले वर्षमा एकदिन बिदा दिने निर्णय गरेका हौं। यसले यहाँको पर्यटन क्षेत्रमा टेवा पुर्याउँछ,’ प्रमुख मिश्रले भने।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारले सार्वजनिक बिदा दिनेबारे उल्लेख गरिएको छैन। ठूलो एकादशीको अवसर पारी नगरपालिका प्रमुख मिश्रको नेतृत्वमा प्रदेशसभा सदस्य सरस्वती बाटीसहित टोलीले चाँगुनारायण मन्दिर परिसर अनुगमन गरेको छ। यसअघि, इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते सार्वजनिक बिदा दिएका थिए।
फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
फाल्गुनन्दलाई सरकारले २०६६ सालमा १६औं राष्ट्रिय विभूति घोषणा गरेको थियो भने कात्तिक २७ गते छठ पर्वमा केन्द्र सरकारले एक, प्रदेश २ ले दुई दिन र तराईका केही स्थानीय तहले तीन दिन बिदा दिएका थिए।