इतिहासकार कमलप्रकाश मल्लको निधन भएको छ। ८३ वर्षीय मल्लको अमेरिकाको एटलान्टामा गत राति ११:४५ मा निधन भएको उनका भाइ मल्ल के सुन्दरले सेतोपाटीलाई जानकारी दिए।
मल्लका दुई छोराछोरी र श्रीमती अमेरिकामा छन्। उनको मंगलबार अमेरिकामै अन्त्येष्टी गरिनेछ।
मल्लले भाषा विज्ञान, नेपाल भाषासँगै विविध भाषा, नेपाल संवत्, संस्कृति र इतिहासको वैकल्पिक अध्ययनमा योगदान दिएका थिए।
को हुन् कमलप्रकाश मल्ल (सेतोपाटी अर्काइभबाट)
त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्राध्यापक हुन्, कमलप्रकाश मल्ल। उनी अमेरिका बस्न थालेको निकै समय बितिसकेको थियो। केही वर्षअघि उनी छोटो समयलाई नेपाल आएका थिए। त्यही मौकामा उनका विद्यार्थी अभि सुवेदीले 'सधैंका लागि फर्किन' आग्रह गरे।
मल्लले नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई राज्यले सम्बोधन गर्नुपर्ने मुद्दा पञ्चायतकालमै उठाएका थिए। २०६२/६३ को जनआन्दोलनपछि यो नेपाली राजनीतिको मूल मुद्दा बन्यो। यही विषयमा थप लेख्न र बौद्धिक विमर्श गर्न मल्ल अघि सरून् र क्रियाशील रहून् भन्ने प्राध्यापक सुवेदीको चाहना थियो।
लामै भूमिका बाँधेपछि सुवेदीले आफ्ना गुरूलाई सोधे, 'तपाईं अब नेपाल फर्किनु हुन्न त?'
मल्लले जवाफ दिए, 'मैले जति गर्नु गरिसकेँ। अब अरूले गर्छन्। मेरो त उमेर पनि धेरै भइसक्यो।'
प्राध्यापक मल्ल ८२ वर्षका भए। उनलाई छ वर्षदेखि पार्किन्सनले सताएको छ। हात थर्थराउँछन्, भर दिँदैनन्। स्मृति राम्रो छैन, बिर्सिरहन्छन्। औंलाहरू कम्प्युटरको किबोर्डमा चल्न सक्दैनन्। कलम समाएर अक्षर कोर्न सक्दैनन्। सहयोगीले खोलिदिएको इमेल पढ्छन्। प्राज्ञिक दुनियाँमा हलचल मच्चाउने समालोचना र अनुसन्धानमूलक लेख लेख्न छाडेको पनि धेरै वर्ष बितिसक्यो।
उनी पञ्चायतकालको सुरुआतदेखि नै राज्यको एक भाषा एक भेष नीतिको आलोचना गर्ने प्रखर बौद्धिक हुन्। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले राज्यनीतिमा यसको प्रतिबिम्बन हुनुपर्ने उनको तर्क थियो। शिक्षा पद्धतिमा बहुभाषिक नीति अपनाउनुपर्ने विषय उनले पटकपटक उठाएका थिए। नेपालीसँगै अन्य भाषा र संस्कृतिको उत्थानमा राज्यले लगानी गर्नुपर्छ भनी उनी पटकपटक लेखिरहन्थे। पञ्चायत नीति भने यसको ठीक उल्टो थियो।
पञ्चायत नीतिका यस्ता खरा आलोचक हुँदाहुँदै उनी सदैव राजदरबारको निकट रहे।
उनी दरबारका अंग्रेजी शिक्षक हुन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका भाइ धीरेन्द्र तथा प्रिन्सेप शाहलाई दरबारमै गएर अंग्रेजी भाषा पढाए। दरबारका सचिव नारायणप्रसाद श्रेष्ठसँगको मित्रताले उनलाई दरबारसँग जोडेको थियो। त्रिविको प्राध्यापक जीवनपछि उनी केही समय जाँचबुझ आयोग प्रमुख भए, जसको नियुक्ति राजाले गर्थे।
उनको प्राज्ञिक लेखनमा भने दरबारसँगको निकटताको कुनै प्रभाव नभेटिने समीक्षकहरु बताउँछन्। बरू उनले 'एन इन्टेलेक्चुअल इन पावर करिडोर' (शक्तिको राजमार्गमा एक बुद्धिजीवि) शीर्षकको लेखमा आफ्ना संरक्षक तथा गाइड यदुनाथ खनाल शक्तिपथमा लागेको भन्दै आलोचना गरेका थिए। नेपाली बौद्धिकलाई सिंहदरबारले समाप्त पार्न थालेको भन्दै उनले उक्तमा लेखमा चिन्ता प्रकट गरेका थिए।
'मल्ल सरको जीवनमा यो विरोधाभाष छ,' प्राध्यापक सुवेदी भन्छन्, 'उहाँ सधैं दरबारको नजिकमा रहनुभयो। लेखनमा भने कहीँ पनि यो निकटताको प्रभाव भेटिँदैन। पञ्चायतकालमा सरकारी नीतिको आलोचना गर्नु सामान्य कुरा थिएन, तर उहाँले निर्भिकतासाथ लेख्नुभएको छ।'
सुवेदीका अनुसार मल्लको लेखनमा उच्चस्तरको प्राज्ञिक र बौद्धिक क्षमता देखिन्छ। अंग्रेजी भाषामा अत्यन्तै बलियो पकड भएका मल्लको लेखन पनि उत्तिकै माझिएको हुन्थ्यो। उनी जुनसुकै विषयमा उत्तिकै राम्रोसँग लेख्न सक्थे।
प्राध्यापक सुवेदी उनलाई नेपालको महान् 'कल्चरल स्कलर' भन्न रूचाउँछन्।
'उहाँको सबभन्दा महत्वपूर्ण विशेषता भनेको उहाँ प्रश्न गर्न हिच्किचाउनु हुन्नथ्यो,' सुवेदी भन्छन्, 'राज्यको नीति, इतिहास लेखन, संस्कृति सबैमाथि उहाँले आलोचनात्मक दृष्टि राख्नुभयो र प्रश्न गर्नुभयो।'
मल्ल राणाकालको अन्तिम समयमा हुर्किए। राणातन्त्रको निरंकुशता बुझे। राणा शासनविरूद्धको प्रतिरोध पनि सानै उमेरदेखि थाहा पाए। राजनीतिक रूपमा सचेत टोलमा हुर्किएकाले उनमा राजनीतिक चेत जागृत भएको थियो।
जुन चोकमा उनी हुर्किए
इन्द्रचोकबाट थोरै उत्तर लागेपछि एउटा चोक आउँछ- बांगेमुढा चोक। परिवर्तनको इतिहासमा यो चोकको आफ्नै महत्व छ।
कमलप्रकाश मल्ल यहीँ हुर्किए।
यो चोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान र केशरबहादुर मास्केले सुरु गरेको सन्देश गृह थियो। मल्लले त्यहाँ सानै उमेरदेखि भारतमा छापिएका नवभारत टाइम्स, आनन्दबजार, हिन्दुस्तान टाइम्सजस्ता पत्रिका पढ्न पाए। नेपालका एक से एक साहित्यकारलाई नजिकबाट चिन्न पाए। बिपी कोइराला, पुष्पलाल श्रेष्ठजस्ता राजनीतिका हस्तीका कुरा सुन्न पाए। उनीहरु पत्रिका पढ्न दिनहुँजसो यो चोकमा आइरहन्थे।
यही चोकमा सहिद शुक्रराज शास्त्रीको घर र गंगालाल श्रेष्ठको ससुराली छ। त्यही भएर राणा शासनविरुद्ध संघर्षको कथा उनले सानै उमेरदेखि देख्न पाए। १९९७ सालमा सहिद काण्ड हुँदा उनी छ वर्षका थिए। यही उमेरदेखि उनको मस्तिस्कले राजनीतिक चेत ग्रहण गर्न थाल्यो।
उनी शिक्षित र सम्पन्न परिवारमा हुर्किए। बुबा योगेन्द्रप्रकाश मल्ल त्यसबेलाका रजिष्ट्रेड वकिल थिए। उनी नेपाल बार एसोसिएसनका संस्थापक सदस्य हुन्। योगेन्द्र सामाजिक तथा राजनीतिक रूपमा पनि सचेत र सक्रिय थिए। उनी टोल सुधार संस्था र काठमाडौं नगरपालिकाका वडाध्यक्ष पनि भए। बुबाको राजनीतिक गतिविधिले पनि उनमा राजनीतिप्रति रूचि जगाएको थियो।
यो चोकमा एउटा स्कुल राणाकालदेखि नै सञ्चालनमा थियो- प्रज्ञा शिक्षा निकेतन। मोहनमान स्थापितले यो स्कुल चलाएका थिए। स्थापितले इजरायलमा आधुनिक शिक्षाको तालिम लिएर आएपछि यो स्कुल चलाउन थालेको कमलप्रकाशका भाइ मल्ल के सुन्दर बताउँछन्। टोलभरिका केटाकेटी जम्मा पारेर उनी यो स्कुलमा पढाउँथे। कमलप्रकाश मल्लले यहीँबाट आफ्नो शिक्षा आरम्भ गरेका थिए।
'स्थापित सरले आफ्नै घरको छिँडीमा स्कुल चलाउनुभएको थियो,' यही स्कुलबाट शिक्षारम्भ गरेका मल्ल के सुन्दर त्यो स्कुलको सम्झना गर्छन्, 'निकै आधुनिक थियो त्यो स्कुल। पिटी खेलाउनु हुन्थ्यो। अंग्रेजी पढाउनुहुन्थ्यो र थुप्रै अतिरिक्त क्रियाकलाप गराउनुहुन्थ्यो।'
छिँडीमा भए पनि डेस्क-बेन्चको व्यवस्था गरेका थिए स्थापितले। सबैभन्दा अगाडिको लहरमा एक कक्षाका विद्यार्थी बस्थे र पछाडि क्रमश: पाँच कक्षासम्मका विद्यार्थी हुन्थे। त्यसपछि कमलप्रकाश मल्ल दरबार हाइस्कुल गए। स्कुल सकेर त्रिचन्द्र कलेजमा अंग्रेजी साहित्यमा भर्ना भए।
बांगेमुढामा नै उनीहरूले विद्यार्थी साहित्य अध्ययन मण्डल भन्ने साहित्यिक समूह खोलेका थिए। एकपटक यही समूहको कार्यक्रममा अतिथि भएर बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान लगायतका साहित्यकार आएको मल्ल के सुन्दरलाई सम्झना छ।
त्रिचन्द्र भर्ना हुनेबेलासम्म उनी पुष्पलालको नजिक भइसकेका थिए। अखिल नेपाल विद्यार्थी फेडरेसनमा पनि आबद्ध भएका थिए। २०११ सालमा भूगोलपार्कमा भाषण गर्दैगर्दा उनी पक्राउ परे। यसबेला विद्यार्थी फेडरेसनले तत्कालीन सरकारले ल्याएको सुरक्षा कानुनविरूद्ध आन्दोलन सुरु गरिरहेको थियो। पक्राउ परेपछि उनी ९ महिना जेल परे।
त्रिचन्द्रको पढाइ सकाएर उनी मुजफ्फरपुर गए। बिहार युनिभर्सिटीबाट अंग्रेजी साहित्यमा एमए गरे। उनी बिहारमै छँदा नेपालमा त्रिभुवन विश्विद्यालय खुलिसकेको थियो। नेपालका क्याम्पस त्रिविअन्तर्गत आइसकेका थिए। उनले जागिरका लागि आवेदन गरे। शिक्षा मन्त्रालयले उनलाई लेक्चररमा नियुक्ति दियो र पद्मकन्या क्याम्पस पठायो।
त्यसको दुई वर्षपछि उनको सरूवा त्रिवि केन्द्रीय विभागमा भयो, जहाँ उनको जीवनको अधिकांश समय बित्यो।
पुष्पलालहरुको चाहना उनले राजनीति गरून् भन्ने थियो। तर, मुजफ्फरपुर जानुअघिसम्म कम्युनिस्ट पार्टी र विद्यार्थी संगठनमा सक्रिय मल्ल त्यहाँबाट फर्किएर सिधै जागिरमा लागे। बुबाले जागिर छाडिसकेकाले परिवारको आर्थिक भार थाम्नुपर्ने जिम्मेवारी उनमा आयो। चार दाजुभाइमध्ये कमलप्रकाश जेठा थिए।
भाइ मल्ल के सुन्दर भन्छन्, 'हामी तीन दाजुभाइ पढिरहेका थियौं। बुबाले जागिर छाडेपछि हामीलाई पढाउने र घरखर्च धान्ने जिम्मेवारी उहाँमा आयो। नभए राजनीतिमै पो लाग्नुहुन्थ्यो कि?'
त्रिविमा पढाउन थालेपछि उनले कोलम्बो प्लानअन्तर्गत बेलायतको लिड्स युनिभर्सिटीमा 'बिए अनर्स' गर्ने अवसर पाए। त्यहाँको पढाइले उनको ज्ञानको दायरा फराकिलो भयो। सँगै त्रिविमा उनको महत्व पनि बढ्यो।
मल्ल के सुन्दरका अनुसार कमलप्रकाशको चाहना त्यहाँ पिएचडी गर्ने थियो। त्यसबेला बेलायतबाहिर एमए गरेकाले बेलायतमा पिएचडी गर्न पाउँदैन थिए। त्यहाँ एमए पढेपछि मात्रै पिएचडी गर्न पाइन्थ्यो । त्यसैले उनले बिए अनर्समा चित्त बुझाएका थिए।
त्रिविमा पढाउन थालेको निकै वर्षपछि उनको पिएचडी चाहना पूरा भयो। उनले स्कटल्याण्डको इडेनवर्ग विश्वविद्यालयबाट भाषाशास्त्रमा पिएचडी गरे।
मल्ल भाषाशास्त्र (लिङ्गुइस्टिक) मा पिएचडी गर्ने तेस्रो नेपाली नागरिक हुन्। उनीभन्दा पहिले सुभद्रा सुब्बा र बल्लभमणि दाहालले भाषाशास्त्रमा पिएचडी गरेका थिए।
एक 'रोलमोडल' प्रोफेसर
त्रिभुवन विश्वविद्यालयको सुरूआतताका अंग्रेजी, हिन्दी लगायतका केन्द्रीय विभाग त्रिपुरेश्वरमा थिए। २०२५ सालमा अभि सुवेदी केन्द्रीय अंग्रेजी विभागमा भर्ना हुँदा त्यहाँ पढाउने प्राय: शिक्षक विदेशी हुन्थे। भारतीय र ब्रिटिस शिक्षकहरूको बाहुल्य रहेको विभागमा भएका थोरै नेपालीमध्ये कमलप्रकाश मल्ल एक थिए।
सुवेदी विश्वविद्यालय जान थालेको केही दिनसम्म मल्ल कक्षामा आएका थिएनन्। सहपाठीले गर्ने चर्चाले उनमा मल्ल सरलाई भेट्ने चाहना बढिरहेको थियो। विद्यार्थीहरूले उनको अनेक किसिमका चर्चा गरिरहेका हुन्थे। कुनै सत्य थिए त कुनै मिथ। मल्ल सरले लगाउने कपडा, मल्ल सरको अंग्रेजी भाषाको दख्खल, मल्ल सरको किताब बोक्ने तरिका सब चर्चाका विषय थिए।
यो सब सुन्दा सुवेदीलाई लाग्थ्यो- मल्ल सर भनेका कुनै मिथका पात्र हुन्।
नभन्दै एकदिन मल्ल सर आइपुगे। करिब पाँच दशकअघिको त्यो दिन सुवेदीलाई अझै याद छ, 'हामीभन्दा थोरै मात्र बढी उमेरको एउटा युवक हातमा दुई-तीनवटा अंग्रेजी किताब बोकेर आयो। चट्ट परेको टाइसुट लगाएको, एकदम सफा, चिटिक्क।'
उनले पढाउने विषय रहेछ, 'साहित्य समीक्षा पद्धति।'
उनी दुईतीनवटा किताब बोकेर कक्षामा छिर्थे। पढाउँदा पढाउँदै किताब पल्टाउँथे। त्यहाँ लेखिएको कुरा खर्रर पढेर सुनाउँथे। अनि अर्थ लगाउन थाल्थे।
सुवेदीजस्ता त्यसबेलाका विद्यार्थीलाई लाग्थ्यो, मल्ल सरलाई थाहा नभएको केही छैन।
त्रिविबाट अवकाशप्राप्त प्राध्यापक सुवेदी आफ्नो विद्यार्थीकाल सम्झिँदै भन्छन्, 'एउटा युनिभर्सिटीको शिक्षकले कसरी पढाउनुपर्छ भन्ने मैले सिकेको उहाँबाटै हो। उहाँको पढाउने तरिकाको छाप त कस्तरी परेछ भने नि, अहिलेसम्म त्यही पो छ।'
उनलाई लाग्छ, आज अभि सुवेदी भन्ने जुन नाम बनेको छ, त्यो मल्ल सर र खनाल सर (यदुनाथ खनाल) कै कारण हो। 'मैले धेरै नयाँ अंग्रेजी साहित्यकार/लेखकको नाम सुनेको उहाँबाटै हो,' सुवेदी भन्छन्, 'उहाँ हरेक नयाँ विचार र शैलीसँग परिचित हुनुहुन्थ्यो। कक्षामा हामीलाई ती कुरासँग 'इन्टर्याक्ट' (अन्तर्क्रिया) गराउनुहुन्थ्यो। त्यो खुबी थियो मल्ल सरको।'
सुवेदीभन्दा निकैपछि केन्द्रीय अंग्रेजी विभागमा भर्ना भएका अरूण गुप्तोमा पनि मल्लको प्रभाव उस्तै छ। उनलाई प्राध्यापक मल्लसहित उनका विद्यार्थीहरू सुवेदी र श्रीधर लोहनी लगायतले पढाए।
गुप्तोलाई आकर्षित गर्ने मल्लको गुण बहुविधाको ज्ञान नै थियो। अंग्रेजी साहित्यमा एमए र बिए अनर्स गरेका मल्लले पछि त्रिवि पढ्दापढ्दै बेलायतबाट भाषाशास्त्रमा पिएचडी गरे। उनी इतिहास, संस्कृति, शिक्षाशास्त्र पनि उत्तिकै ज्ञान राख्थे।
अंग्रेजीका प्राध्यापक गुप्तो भन्छन्, 'एउटा युनिभर्सिटी प्रोफेसर कसरी सबै विषयको ज्ञानले भरपुर हुनुपर्छ भन्ने उदाहरण हुनुहुन्थ्यो उहाँ।'
विद्यार्थीहरु खासखुस गर्थे, 'मल्ल सरले रिफर गर्नुभयो भने त युरोप/अमेरिकाको जुनसुकै युनिभर्सिटीमा पनि भर्ना पाइन्छ रे।'
'पछि बुझ्दा त्यस्तो त होइन रहेछ, तर विद्यार्थीहरू मल्ल सरलाई कसरी चिन्थे भन्ने यसबाट थाहा हुन्छ,' गुप्तो भन्छन्।
त्रिविबाट एमए सकेको केही वर्षमै जब गुप्तो त्यहाँ पढाउन थाले, तब उनलाई लाग्थ्यो, प्रोफेसर भनेको मल्ल सरजस्तै हुनुपर्छ। साहित्य,कला, इतिहास, संस्कृति, राजनीति सबैमा उत्तिकै ज्ञान राख्ने। सबै विषयमा विद्यार्थीले सोधेका जिज्ञासाको जवाफ दिनसक्ने।
'जसरी समाज बहुविधात्मक (मल्टिडिसिप्लिनरी) छ, विश्वविद्यालयमा पढाइ हुने विधा पनि त्यस्तै हो,' प्राध्यापक गुप्तो भन्छन्, 'एउटा विधा राम्रोसँग पढाउन अरू धेरै विधाको ज्ञान चाहिन्छ। मल्लसरमा त्यो क्षमता थियो। त्यसैले हामी प्रभावित थियौं र अहिलेसम्म छौं।'
श्रीधर लोहनी, सञ्जीव उप्रेती, अभि सुवेदी, अरुण गुप्तोजस्ता नाम कमाएका अंग्रेजीका थुप्रै प्राध्यापक मल्लका विद्यार्थी हुन्। उनीहरु प्रोफेसर मल्ललाई 'रोलमोडल प्रोफेसर' क रूपमा सम्झना र सम्मान गर्छन्। उनलाई शिक्षाविद्, समालोचक र इतिहासकारसमेत भन्छन्। मल्लको लेखन हेर्दा यी सबै क्षेत्रमा उनले आफ्नो छाप छाडेको भेटिन्छ।
उनका लेख धेरैजसो त्यसबखतको बसुधा पत्रिकामा छापिन्थे। नेपाल रिभ्यु र राइजिङ नेपालमा उनी बरोबर लेखिरहन्थे। पछि त्रिविको एसिया तथा नेपाल अध्ययन केन्द्र र आर्थिक विकास तथा प्रशासनिक केन्द्र (सेडा) का जर्नलमा पनि उनका लेख छापिए। त्यहाँ केही संकलनहरूको सम्पादन पनि उनले गरे।
उच्चस्तरका प्राज्ञिक
कमलप्रकाश मल्ल जसरी 'सर्वज्ञ' गुरू थिए, त्यसैगरी अत्यन्तै उच्चस्तरका बौद्धिक पनि थिए।
'प्राध्यापक यदुनाथ खनालपछि त्रिविमा त्यस किसिमको बौद्धिक लेख अंग्रेजीमा लेख्न सक्ने मल्ल सर नै हुनुहुन्थ्यो,' प्राध्यापक सुवेदी भन्छन्, 'त्यसअघिका अरू कोही नेपाली प्राध्यापक मैले त्यसस्तरको लेख लेख्न सक्ने पाएको छैन।'
पश्चिमा बौद्धिक परम्परा र नेपाली समाजको गहिरो ज्ञानका कारण उनको लेखन अत्यन्तै गभ्भीर र महत्वपूर्ण हुन्थ्यो। अंग्रेजी भाषाको राम्रो दख्खलले त्यसको महत्व अझ बढाउँथ्यो। उनले त्रिविमा उच्चस्तरको प्राज्ञिक लेखनको जग बसालेको प्राध्यापक सुवेदी बताउँछन्।
मल्लले २०२६ सालमै नेपालको शिक्षा पद्धतिमाथि कडा आलोचना गर्दै एउटा लेखे लेखे। 'एजुकेसन: रोड टु नोह्वेयर' शीर्षकको यो लेख बसुधामा छापियो। उनले त्यसैमा हाम्रो शिक्षा पद्धतिले फ्रायंकेन्सटाइनको 'मेकानिकल मनस्टर' मात्रै उत्पादन गरिरहेको बताए।
त्यसको दुई वर्षपछि पञ्चायतले राष्ट्रिय शिक्षा योजना लागू गर्यो। उनले यो योजनाको पनि आलोचना गरे र 'राष्ट्रिय शिक्षा योजना: उच्च शिक्षामा कार्यान्वयनका केही चुनौति' भन्ने लेख लेखे। यी लेखले शिक्षामा उनको ज्ञानको फराकिलो दायरा प्रमाणित गर्यो।
२०६१ सालको मदन पुरस्कार वितरण समारोहमा उनी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यहाँ उनले नेपालको शिक्षाबारे लामो मन्तव्य दिएका छन्। यसमा मुख्य गरेर शिक्षा र भाषाको सम्बन्धमा जोड दिएका छन्। नेपालको बहुभाषिक विविधतालाई शिक्षा पद्धतिले सम्बोधन गरे मात्रै नेपालले शिक्षामा फड्को मार्न सक्ने धारणा उनले त्यहाँ राखेका छन्।
त्रिभुवन विश्वविद्यालमा छँदा उनले पशुपतिशम्शेर राणासँग मिलेर 'नेपाल इन प्रस्पेक्टिभ्स' भन्ने पुस्तक सम्पादन गरे। २०२९ सालमा प्रकाशित यो पुस्तकलाई राजा वीरेन्द्र 'नेपाल चिनाउने पुस्तक' भन्थे। विदेशीहरूलाई यही पुस्तक उपहार दिने गर्थे।
यसैमा संकलित एउटा लेख 'द इन्टेलेक्चुअल इन नेपाली सोसाइटी' मल्ललाई चिनाउने लेख हो। उनले यसमा प्राचीन समयदेखिका नेपाली बुद्धिजीविको इतिहास खोतलेका छन्। र, तत्कालीन समयमा नेपाली समाजमा बौद्धिकहरूको खडेरी किन लाग्यो, बौद्धिकहरूले आफ्नो भूमिका किन निर्वाह गर्न सकिरहेका छैनन् भन्ने प्रश्नको जवाफ खोजेका छन्।
यो लेख २०२७ सालमा रूपरेखा पत्रिकामा शंकर लामिछानेले नेपाली अनुवाद गरेर छपाए- नेपाली समाजमा बुद्धिजीवि शीर्षकमा। रूपरेखाको पूर्णाङ्क १०८ र १०९ मा यो लेख छापिएको छ। यसले त्यसबेलाका सबै बुद्धिजीविको दिमाग हल्लायो। मल्लको कडा प्रतिवाद गर्दै हर्क गुरुङ र जगदिश घिमिरे* जस्ता विद्वानले लेख लेखे। इतिहास संशोधन मण्डलका महेशराज पन्तले पनि यो लेखको निकै आलोचना गरे।
नेपाली समाजमा बुद्धिजीविहरूले आफ्नो भूमिका निर्वाह गर्न सकेका छैनन् भन्ने मल्लको ठहर थियो। यो निष्कर्षले धेरैलाई 'पिन्च' भएको देखिन्छ। 'एन इन्टेलेक्चुअल इन पावर करिडोर' नामक निबन्धमा पनि उनले यस्तो आशय व्यक्त गरेका छन्।
भाषाशास्त्रमा पिएचडी गरेकाले उनको रूचि भाषामा थियो। साहित्य उनको पहिलादेखिकै विषय थियो। त्रिविमा पढाउन थालेपछि उनको चाख नेवारी संस्कृतिमा बढ्दै गयो। उनले नेपाल भाषा र नेवारी संस्कृतिको मिहिन अनुसन्धान सुरु गरे।
लेखक राजेन्द्र महर्जनका अनुसार नेवार संस्कृतिमाथि मल्लले झैं गहन अनुसन्धान गरेर त्यो स्तरको प्राज्ञिक रूपमा लेख्ने मानिसको अहिले अभाव छ। 'उहाँले त्यसको जग बसाउनुभयो,' महर्जन भन्छन्, 'भाषा र संस्कृतिको आधुनिक पद्धतिबाट अनुसन्धान गर्ने र लेख्ने काम उहाँले नै सुरु गर्नुभयो। त्यो पनि अत्यन्तै माथिल्लो स्तरबाट।'
उनले 'क्लासिकल नेवारी डिक्सनरी' बनाउने कामको नेतृत्व गरे। मल्ल के सुन्दरका अनुसार जापानको टोयटा फाउण्डेसनको आर्थिक सहयोगमा तयार भएको यो डिक्सनरीमा ३० हजार पुराना नेवारी शब्दको अर्थ, प्रयोग र उद्गम केलाइएको छ।
'यसले जापानमा २० लाख रूपैयाँको पुरस्कार पनि पायो,' मल्ल के सुन्दरले सुनाए।
नेवारी भाषाको 'बिब्लियोग्राफी' पनि उनले तयार पारे। नेवारी भाषाका कवितासंग्रहमा उनले लेखिदिएका भूमिका पनि पाठकका लागि रूचिका विषय हुन्।
संस्कृतिको चाखले उनलाई इतिहासको अध्ययनमा पुर्यायो। उनी इतिहासमाथि पनि कलम चलाउन थाले। यी सबै किसिमका रूचि र लगावले नै उनी बहुविधाका ज्ञाता बने।
२०३६ सालमा नेपाल भाषा मंका: खल:ले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिन माग गर्दै आन्दोलन थाल्यो। यसको नेतृत्व क्लबका अध्यक्ष पदमरत्न तुलाधरले गरेका थिए। मल्ल के सुन्दर महासचिव थिए।
यो अभियान चलिरहेकै बेला, २०३९ सालमा कमलप्रकाश मल्लले नेपाल संवतलाई नेपालको राष्ट्रिय संवत बनाउनुपर्ने तर्क गर्दै एउटा लेख लेखे- द रिलेभेन्स अफ नेपाल संवत।
'हामी आन्दोलनमा थियौं,' मल्ल के सुन्दर भन्छन्, 'यसको बौद्धिक व्याख्या उहाँले गर्नुभयो।'
पछि आएर सरकारले शंखधरलाई राष्ट्रिय विभूति घोषणा गर्यो। नेपाल संवतलाई राष्ट्रिय मान्यता पनि दियो। 'यो माग पञ्चायतकालमा सम्बोधन हुन सम्भव थिएन,' उनले भने, 'गणतन्त्र आएपछि नेपाल संवतले राष्ट्रिय मान्यता पायो।'
नेपाल संवतलाई राष्ट्रिय मान्यता दिनुपर्ने उनको यो लेखको आलोचना गर्दै इतिहास संशोधन मण्डलका सदस्य महेशराज पन्तले 'नेपाल संवतको राष्ट्रिय मान्यताको अनौचित्य' भन्ने पुस्तिका नै छपाए।
मल्ल भर्सेस इतिहास संशोधन मण्डल
कमलप्रकाश मल्ल जब इतिहासमा गहिरो चाख राख्न थाले, इतिहास संशोधन मण्डलसँग उनको गम्भीर मतभेद सुरु भयो।
नेपाल संवतको राष्ट्रिय मान्यताका बारेमा भएको त्यो मतभेद अन्यत्र पनि देखिन थाल्यो। मेरी स्लसरको 'नेपाल-मण्डल' नामक किताब छापिएपछि यो मतभेद सतहमै छताछुल्ल भयो।
एसिया तथा नेपाल अध्ययन केन्द्रबाट प्रकाशित हुने 'कन्ट्रिव्युसन टु नेपाल स्टडिज'दमा उनले स्लसरको पुस्तकको समीक्षा लेखे। पृथ्वीनारायण शाह र नेपाल एकीकरणबारे स्लसरको मतको उनले खण्डन गरे। स्लसर इतिहास संशोधन मण्डलबाट प्राप्त स्रोतमा भर परेको भनी मल्लले आलोचना गरेका थिए। यो समीक्षा पढेपछि महेशराज पन्तले मल्ललाई २९ पृष्ठ लामो चिठी लेखे। यो चिठी महेशराज र दिनेशराज पन्त सम्पादक भएको पूर्णिमा पत्रिकामा छापियो।
यो चिठीमा पन्तले मल्लको बौद्धिकमाथि नै प्रश्न उठाए। केही व्यक्तिगत टिप्पणी पनि गरे। मुख्यत: कमलप्रकाश मल्ल पृथ्वीनारायण शाहको महत्व स्थापित नहोस् भन्नेमा लागिपरेको र पूर्वाग्रही भएको आरोप लगाए। यो चिठीमा पन्तले स्लसरको किताबको समीक्षाको मात्रै टिप्पणी गरेका छैनन्, मल्लले लेखेका इतिहास र संस्कृतिसम्बन्धि सबै लेखको आलोचना गरेका छन्।
मल्लले यो चिठीको पनि जवाफ लेखे, 'इम्पेकेबल हिस्टोरियोग्राफी इन नेपाल: अ रिबटल'। यसमा उनले इतिहास संशोधन मण्डलको अझै आलोचना गरे।
लेखक महर्जनका अनुसार संशोधन मण्डल र मल्लले इतिहासलाई हेर्ने दृष्टिकोण फरक भएका कारण यो मतभेद सुरू भएको थियो। 'संशोधन मण्डलले तिथिमिति र एक्वेरेसीमा बढी जोड दिएको देखिन्छ,' महर्जन भन्छन्, 'कमलप्रकाश मल्ल यसको विश्लेषणात्मक अध्ययनमा रूचि राख्नुहुन्थ्यो। त्यसैले यो मतभेद सिर्जना भएको जस्तो लाग्छ।'
इतिहास संशोधन मण्डलले नयराज पन्तकै नेतृत्वमा तयार पारी 'पृथ्वीनारायण शाहको उपदेश' भन्ने पुस्तक प्रकाशन गरेको थियो। यसमा नयराजले पृथ्वीनारायण शाहको उपदेश भनिएको गद्य पाठलाई पद्यस्वरुपमा दिएका छन्। यो पुस्तकको पनि मल्लले निकै आलोचना गरेका छन्। 'नेपाल मण्डल'को समीक्षा गर्ने क्रममा दिव्योपदेशलाई उनले 'लेट म्यानुफ्याक्चर्ड टेक्स्ट' अर्थात 'पछि सिर्जना गरिएको लेख' को संज्ञा दिए। यसले पनि महेशराज पन्तसँग उनको मतभेद बढेको थियो।
इतिहासका घटनाविशेषमा भन्दा इतिहासलाई कसरी प्रस्तुत गर्ने भन्नेमा संशोधन मण्डलसँग उनको विमति रहेको देखिन्छ। मल्ल महेशचन्द्र रेग्मी र लुडविग स्टिलरको इतिहास लेख्ने पद्धति रूचाउँथे।
मल्लले आफ्नो लेखनको सुरूआती कालमा नेपाली भाषामा केही लेख लेखे। उनका केही समालोचनात्मक लेख शारदा पत्रिकामा छापिए। 'केही लेखहरू उहाँले मलाई देखाउनुभएको थियो,' प्राध्यापक सुवेदी भन्छन्, 'पछि उहाँले नेपालीमा लेख्नुभएन। नेपालभाषा र अंग्रेजीमै लेख्नुभयो।'
सन् १९७० सम्म अंग्रेजीमा उनले लेखेका लेखहरूको संकलन 'द रोड टु नोह्वेर' भन्ने पुस्तकमा छ। पहिले साझाबाट प्रकाशित भएको यो किताब तीन वर्षअघि जगदम्बा प्रकाशनले पुन:प्रकाशन गरेको छ। त्यसपछिका उनका लेख 'फ्रम लिटरेचर टु कल्चर' नाममा प्रकाशित भएको छ। सोसल साइन्स बहाले यो किताब तीन वर्षअघि प्रकाशन गरेको हो।
यी दुवै किताब एकसाथ विमोचन भएका थिए। तर मल्ल त्यतिबेला अमेरिका गइसकेका थिए। उनलाई पार्किन्सन्सले निकै सताइसकेको थियो।
२०४० सालतिर उनी मैतीदेवीमा घर बनाएर सरेका थिए। छोराछोरी अध्ययन सकेर अमेरिका गएपछि त्यहाँ अलि एक्लोजस्तो महशुस गर्न थालेका थिए। 'मल्लसर अलि खिन्न हुनुभएको थियो,' प्राध्यापक सुवेदी भन्छन्, 'छोराछोरी टाढा भए भन्नुहुन्थ्यो।'
यही खिन्नताले उनलाई अमेरिका जान प्रेरित गर्यो।
क्यालिफोर्नियाको बर्कले विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर बनेपछि उनी अमेरिका आउजाउ गरिरहेकै थिए। अहिले उनी अमेरिकामा छोरा अभि मल्लसँगै छन्। करिब पाँच-छ वर्षअघि नै उनले लेख्न छोडिसकेका थिए।
'उनको कलम चल्न छाडेपछि एउटा उच्चस्तरको 'क्रिटिकल' लेखकको ठाउँ खालि देखिएको छ,' प्राध्यापक सुवेदी भन्छन्, 'त्रिविमा त उहाँले अवकाश पाएपछि खालि भएको ठाउँ अरू कसैले लिन सक्दै सक्दैन।'
* यहाँ डोरबहादुर बिष्टको नामसमेत समावेश हुन गएकाले सच्याइएको छ।