भारत सरकारले कास्कीमा विभिन्न तीन वटा शैक्षिक संस्थाको भवन निर्माण गरेको छ।
भारत सरकारले कास्कीको सरस्वती टिका उच्च माध्यमिक विद्याल, लक्ष्मी आदर्श महुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको भवन निर्माण गरेको हो।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, भारतीय दूतावासका मिशन उप- प्रमुख डा. अजय कुमारसहितको टोलीले उक्त नवनिर्मित भवन उद्घाटन गरेका हुन्।
सरस्वती टिका उच्च माध्यमिक विद्यालय ३७ लाख १० हजार रूपैँया बराबरको भारतीय सहयोगमा निर्माण गरिएको हो । राष्ट्रिय परिक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १०+२ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ।
कास्की जिल्लाको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा अध्ययनरत करिब ११०० विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन्।
यस्तै ४८ लाख ४० हजार रूपैयाँ भारतीय सहयोगमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको भवन निर्माण भएको हो।
त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं १०+२ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दै आएको छ।
यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् ।
यस्तै ४१ लाख १० हजार रूपैयाँको लागतमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन निर्माण भएको हो।
यो त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका एक गैरनाफामूलक प्राज्ञिक संस्था हो जसले बि.एड., बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ ।
सन् २०१८को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् ।
नवनिर्मित संरचनाहरू (सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, आदि)ले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्नेछ।