काठमाडौं महानगर ‘फ्रेण्डसिप सिटी फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना’ अवार्डबाट सम्मानित भएको छ।
चीनको हुआन सहरमा नोभेम्बर १४ देखि १६ (कात्तिक २८ देखि ३०) सम्म आयोजना भएको ‘चाइना इन्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा महानगर सम्मानित भएको हो।
अवार्डका लागि तिब्बतको ल्हासा नगरले महानगरलाई सिफारिस गरेको थियो। उक्त सम्मेलनमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सहभागी थिए।
उनीहरू सम्मेलन सकेर शनिबार स्वदेश फर्किएका छन्।
हुआनमा सम्पन्न सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका ६० वटा अन्तरराष्ट्रियसहित ८०० नगरका प्रतिनिधिको सहभागिता थियो ।
‘विकासका अवसर र आपसी साझा जित’( सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन) विषयमा केन्द्रित सम्मेलन, चाइनिज पिपुल्स एशोसिएशन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएशन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले आयोजना गरेका हुन् ।