न क्यानभास थियो, न रङ।
पौभाः चित्रकार दीपक कुमार जोशीसँग चित्रकार बन्ने हुटहुटी मात्रै थियो।
यही हुटहुटी र पौभाःको विषयमा जोशीले शुक्रबार आर्ट काउन्सिलमा ‘कलाका कुरा’ को २८ औं श्रृंखलामा चर्चा गरे।
‘बुबाको काम नलाग्ने पुरानो कमिज काटेँ। घरको पिर्कामा किल्ला ठोकेँ,’ पुराना दिन सम्झँदै उनले भने, ‘अनि तयार भएको थियो मेरो क्यान्भास। रङको लागि पैसा जुटाउन घरको सामान किन्दा नाफा गर्थेँ।’
उनका बुबा ज्योतिष थिए। चिना लेख्दा त्यसमा गणेशको चित्र कुँद्नु पर्थ्यो। दीपकले राम्रो चित्र बनाएको देखेर बुबाले उनैलाई त्यो काम सुम्पिए।
वीरेन्द्र कला संग्रहालयमा एउटा चित्र देखेपछि उनको हुटहुटी झनै बढ्यो।
‘मैले सिद्धिमुनि शाक्यले बनाएको मन्जुश्रीको चित्र देखेको थिएँ,’ उनले भने, ‘त्यो चित्रबाट म यति प्रभावित भएँ, मैले मनमनै सिद्धिमुनिलाई नै आफ्नो गुरु मानेँ। म पनि त्यस्तै चित्र बनाउँछु भन्ने सोचेँ।’
यसरी नै जोशीले चित्र बनाउन सुरु गरेका थिए। पछि ताहाचलमा क्याम्पस पढ्दा दिउँसो चित्र कोर्थे। चार–पाँच रुपैयाँमा बेच्थे। त्यो पैसाले फेरि रङ, क्यान्भास किन्थे। बेच्थे। गुजारा चल्थ्यो।
मनमनै गुरु मानेको चित्रकारलाई भने उनले भेट्न पाएका थिएनन्।
एकदिन उनी वसन्तपुरको एक पसलमा चित्र बेच्न पुगेछन्। त्यहाँ उनले ‘बुद्धमाया’ को पौभाः चित्र देखे। चित्र देखेर हेरेको हेरेकै भएछन्। चित्रै सम्झँदै घर फर्किँदै थिए।
‘काठमाडौंको चिकमुगल आइपुग्दा एकजनाले पछाडिबाट बोलाउनुभयो। उहाँ त त्यो चित्र बनाउने प्रेममान चित्रकार पो हुनुहँदो रहेछ,’ त्योबेलाको खुसी साट्दै उनले भने, ‘तपाईंले पसलमा हेरिरहनु भएको चित्र त मेरो हो नि भन्नुभयो।’
‘उहाँ पसलका साहुको साथी हुनुहुँदो रहेछ। उहाँले नै पछि मलाई घरमा पौभाः सिक्न बोलाउनुभयो,’ जोशीले भने।
मनमनै गुरु सम्झेका सिद्धिमुनिलाई पनि तिनै प्रेममानले परिचित गराइदिए। जोशीले प्रेममानका चित्र सिके। सिद्धिमुनिसँग भने सच्याउने, सुझाव लिने काम भने गर्थे।
पौ अर्थात ‘पत्र’। भाः अर्थात भट्टारक।
‘पौभाः चित्रलाई देवीदेवतालाई सन्देश पुर्याउने चित्र भनिन्छ। अहिले यसको विसर्ग हटाएर पौभा मात्रै भनिन थालिएको छ,’ उनले भने, ‘हामीले यसलाई थांका पनि भन्ने गरेका छौं। तिब्बत र हिमाली भेगको प्रभावमा यो शब्द आएको हो।’
जोशी यो पेशामा जोडिदा पौभाः भनेर थोरैले मात्र चिन्थे। थांका नै चलनमा थियो। उनले भने नेपाल टेलिभिजनमा पौभाः को कार्यक्रम नै चलाए। त्यहाँ उनले मनमनै गुरु बनाएको सिद्धिमुनि शाक्यसँग पहिलो अन्तवार्ता लिए।
पौभाःको कार्यक्रमसँगै नेपाल टेलिभिजनमा उनले ‘हेर, सिक र बनाऊ’ भन्ने कार्यक्रममा बालबालिकालाई चित्र बनाउन पनि सिकाउँथे।
नेपाल टेलिभिजन त्यो बेला भखरै सुरु भएको थियो। उनी स्थानीय विकास मन्त्रालयमा कलाकारका रुपमा काम गर्थे। कभर, पोस्टर लगायतका डिजाइन बनाउथे।
त्यहीबेला नेपाल टेलिभिजनले आफ्नो लोगोका लागि आह्वान गर्यो। जोशीले अन्तिम दिनमा डिजाइन पठाए। त्यही लोगो सार्वजनिक मतबाट छानियो।
हामीले अहिले देख्ने लोगो उनैले बनाएका हुन्।
‘त्यो बेला देशमा पञ्चायत थियो। लोगो राजा वीरेन्द्रलाई देखाउनुपर्थ्यो,’ उनले सुनाए, ‘सरकाले त्यसमा ‘विकासको लागि सञ्चार’ थप्न भन्नुभयो। त्यो लोगोबाट मैले पुरस्कार पनि पाएँ।’
‘त्यसपछि मलाई नीर शाहले मन्त्रालयको भन्दा थप सुविधामा नेपाल टेलिभिजनमा बोलाउनुभयो। मैले कलाकारको रुपमा काम गर्नुका साथै टेलिभिजनमा परम्परागत कलालाई फैलाउने अवसर पाएँ,’ उनले भने।
परम्परागत तरिकाले चलिरहेको पौभाः चित्रमा जोशीले ल्याण्डस्केप मिसाए। उनले भगवानसँगै नेपालका हिमाल, पहाड, खोला लगायतका प्राकृतिक दृश्य समेटे। धेरैले परम्परा तोडियो भनेर आलोचना पनि गरे। तर उनी परम्परागत ढगंमै रहिरहँदा कला कतै नपुग्ने बताउँछन्।
‘विदेशीले ल्याण्डस्केपसहितको पौभाः चित्र देख्दा यो हाम्रो देशको हो भन्ने बुझून् न,’ उनले भने, ‘परम्परालाई हानी नहुने गरी आधुनिकीरण गर्दा मौलिकता हराउँदैन। कला अझै राम्रो बन्छ।’
उनका अनुसार पौभाःको आत्मा भनेकै ‘आइकोनोग्राफी’ र रेखा (लाइन) हो। त्यसलाई नियमपूर्वक चित्रकारले पालना गर्नुपर्छ।
‘यो चित्रमा पूर्ण रुपमा आइकोनोग्राफी र लाइनको महत्व हुन्छ। त्यसमा केही कलाकारले ध्यान नदिइरहेको देख्छु,’ पौभाःमा आएको केही परिवर्तन औंल्याउँदै जोशीले भने, ‘यो चित्रमा सबै कुराको अर्थ हुन्छ। यसैले चित्रकार स्वयंले महशुस गरेर मौलिक कुरा जोगाउन जरुरी छ।’
यही पौभाः लाई नेपाल टेलिभिजनबाट ६ वर्ष प्रचार एवं प्रवर्द्धन गरेपछि उनी त्यहाँबाट छुट्टिए। परम्परागत कलामा भने झनै नजिकिए।
सन् २००७ मा उनले नेपाल हस्तकला महासंघमा कला शिक्षकको भूमिका निर्वाह गरे। पौभाः विभागको संयोजक बने। कलाका अन्य विभिन्न कार्यशालाहरू सञ्चालन गरे।
यो क्रम जारी नै थियो। उनलाई केही वर्षअघि क्यानसरले समात्यो। कलामा 'ब्रेक' लाग्यो। तर त्यही कलाले रोगसँग लड्ने क्षमता अनि धैर्य दिएको उनी बताउँछन्।
‘पौभाः ध्यान र ज्ञानले भरिएको चित्रकला हो। शरीर जस्तो भए पनि कलाले मन बलियो बनाउन मद्दत गर्दो रहेछ,’ उनले भने।