काठमाडौंका कलंकीवासीले कलंकी–सोल्टीमोड सडकखण्ड निर्माणमा ढिलाइ भए सो सडकखण्ड अनिश्चतकालीन बन्द गर्ने चेतावनी दिएका छन्।
सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडकखण्ड अनिश्चतकालसम्म बन्द गर्ने स्थानीयले चेतावनी दिएका हुन्।
सरकारलाई दबाब दिन भन्दै कलंकीवासीले बिहिबार कलंकी–सोल्टीमोड सडकखण्ड तीन घण्टा बाटो बन्द गरिदिएका थिए।
धूँवाधूलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडकखण्ड करिब तीन घण्टा बन्द गराएका हुन्।
दिनमा चार पटक पानी हाल्ने, बाटोमा राखेको डिभाइडर व्यवस्थित गर्ने र समयमै बाटो पिच गर्ने सहमति भएपछि बाटो खुलेको थियो।
सडक विस्तारको नाममा स्वास्थ्यमाथि खेलवाड भएपछि धूँवाधूलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दबाब दिन आफूहरूले सडक नै अवरुद्ध गर्नुपरेको स्थानीय समिर महर्जनले बताए।
बिहान तीन घन्टासम्म अवरूद्ध भएको सडक खुलाउन वडा अध्यक्ष, स्थानीय, प्रहरी र ठेकेदारबीच सहमति भएको स्थानीय सुजन केसीले जानकारी दिए।
‘धूलो धूँवाका कारण हाम्रो व्यापार घट्यो। रोगको सिकार भयौं। त्यही भएर बाटो बन्द गर्नु पर्यो,’ केसीले सेतोपाटीसँग भने, ‘समय सयममा पानी हाल्छौं। मंसिर ८ गतेबाट पिच गर्न सुरू गर्छाैं भनेका छन्। सहमति अनुसार काम भएन भने हामी फेरि सडक अवरोध गर्छौं।’
यो सडकखण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन्।
रविभवनमा व्यापार गर्दै आएका महर्जनले धूँवाधूलोकै कारण आफूहरूको व्यापार समेत नभएको गुनासो पनि गरेका छन्।
सडक खाल्डो पार्ने तर पुनर्निर्माण नगर्ने गरेका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि त्यसको निर्माणमा ढिलाइ नगर्न सरकारलाई दबाब दिन आफूहरूले सडक बन्द गरेको स्थानीय अर्का व्यापारी मनोज आचार्यले जानकारी दिए।
स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौंता गरिसकेका छन्। तर, त्यसको पालना नभएको स्थानीयको गुनासो छ।