तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतीस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणमा ढिलाइ भएको छ।
विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो। त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको सुरूआत यहीँबाट गरेका थिए। मन्दिरको पुनर्निर्माण भने ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो। निर्माणमा प्रयोग भएको इँटामा अङ्ग्रेजी लेखिएको भन्दै स्थानीयवासीसमेत असन्तुष्ट बनेका थिए।
श्रीलङ्का सरकारको सहयोगमा निर्माणाधीन यो मन्दिर सम्झौता अनुसारको अवधिमा नसकिएपछि पुरातत्व विभागले म्याद थप गरेको हो। गत जुलाईमा म्याद सकिएपछि विभागले छ महिना अवधि थप गरेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए। थप भएको अवधिमा समेत काम सम्पन्न हुने देखिएको छैन। उनले भने, ‘पहिले भन्दा थपिएको अवधिमा कामको गति केही बढेको छ, तर सकिने छाँटकाँट छैन।’
प्रेरा भेगिम तुल्सी जेभीले मन्दिर निर्माणको जिम्मेवारी लिएको छ । गत जुलाईमा दुई वर्षको ठेक्का सम्झौताको अवधि सकिएको हो। केही दिन पहिले पुनर्निर्माणको प्रगति हेर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोली बुङ्गमती पुगेको थियो। प्राधिकरण पुगेपछि पनि ठेकेदारले केही तदारुकता देखाउन थालेको छ । पहिलोपटक थप भएको अवधिमा कामले गति लिँदा मात्रै दोस्रोपटक म्याद थप हुने विभागले जनाएको छ। जुन गतिमा काम हुनुपर्ने हो त्यो नभइरहेको उनले बताए।
ठेकेदार कम्पनीले काम नदेखिए पनि काम भइरहेको बताएको प्रमुख प्याकुरेलले बताए। उनले भने, ‘त्यसैले पनि उसले केही काम प्राङ्गणमा नै गर्न लागेको छ।’
शिखरशैलीको यो मन्दिरमा ३६ फिट लामो काठको खाँचो पर्छ। एउटै काठबाट बनाउन नसकिने हुनाले तीन वटासम्म जोडेर बनाउन सकिने प्रमुख प्याकुरेलले बताए। सहजरूपमा उपलब्ध नहुने हुँदा कार्यालयले पहिले यो काठ ल्याउन ठेकेदारलाई भनिरहेको छ। उनले भने, ‘यो काठ ल्याएर तोकिएको आकारको बनाउन थाले काम चाँडो हुन्छ भन्नेमा विश्वास गर्न सकिन्थ्यो।’
एक तलाको मन्दिर र त्यस माथि शिखरशैली भएकामा पहिलो तलामा केही काम भइसकेको छ भने केही भइरहेको छ । मन्दिरको गजुरको मर्मतको काम बाँकी छ । मन्दिरमा ढुङ्गाको खम्बा उठाइएको छ । चार दिशामा रहेको मूल ढोकाको मर्मत सकिएको छ । सरसफाइ गर्न बाँकी रहेको छ । स्थानीयवासीले ढोकामा पहिले आफूखुशी रङ लगाएर ढोकाको स्वरुप बिग्रिएको थियो । त्यसलाई सुधार्ने काम अहिले भइरहेको छ । पर्खाल उठाइसकेको प्याकुरेलले बताए। उनले भने, ‘पहिलो तलामा भन्दा पनि शिखरशैलीमा काम चाँडो गर्न आवश्यक छ।’
मूल ढोकाको मर्मतको काम सकिएकाले पहिले जडान गरेर मात्रै सफाइ गर्ने ठेकेदार कम्पनीको योजना रहेको बताइएको छ। स्थानीयवासीलाई मन्दिरको काम भइरहेको छ भन्ने देखाउन जडान गरेर सफाइ गर्न लागिएको हो। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको मत्स्यन्द्रनाथको जात्रा मानिन्छ। जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई यही मन्दिरमा राख्ने गरिन्छ। देवता बुङ्गमतीमा रहँदा विभिन्न पर्व पर्छन्। पुनर्निर्माणमा ढिलाइ हुँदा यहाँका नियमित पर्वमासमेत असर परेको स्थानीयवासीले बताउँदै आएका छन् ।