प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्रहालय बनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन संग्रहालयको आवश्यकता रहेको बताए।
प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रेट्रोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले संग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए।
महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ। नजिकैको नयाँ घरमा उनका छोरा डा पदमप्रसाद देवकोटा बस्दै आएका छन्। बिक्रम सम्बत् १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र २०१६ भदौ २९ गते निधन भएका महाकाविका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौं लोकप्रिय कृति प्रकाशित छन्। उनी पूर्व शिक्षामन्त्रीसमेत हुन्।
‘देवकोटा मूलबाट फुटेर खसेको झाँगोजस्तो’
गतसाता छातिमा संक्रमण भएर उपचारार्थ अस्पताल भर्ना भई निवास फर्केपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिएका प्रधानमन्त्री ओलीले महाकवि देवकोटाका विभिन्न कविता सुनेपछि भने, 'देवकोटाजस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन। उहाँ प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको झाँगोजस्तो हुनुहुन्थ्यो।'
आफू जन्मनुभन्दा ४२ वर्षअघि जन्मिएका महाकविलाई प्रधानमन्त्री ओलीले देवकोटा बितेको भोलिपल्टदेखि मात्र राम्रोसँग चिन्न थालेको अनुभव सुनाए। प्रधानमन्त्री ओलीले आफू बाल्यकालमा विद्यालय पढ्दा देवकोटाको निधनमा शिक्षकहरु रोएको देखेपछि उनीप्रति जिज्ञाशा बढेको र पछि ‘मुनामदन’ खण्डकाव्य पढ्दा आफू पनि रोएको स्मरण गरे। झ्याउरे छन्दको ‘मुनामदन’ अहिले पनि नेपाली पाठकमाझ धेरै बिक्री हुने पुस्तक मध्येमा पर्छ।
भारतीय महापण्डित डा राहुल साङकृत्यायनले देवकोटालाई गौतमबुद्धपछिको सबैभन्दा ठूलो मानवातारका रूपमा लिई भारतका तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा भनी उल्लेख गरेको सन्दर्भ पनि साहित्यिक इतिहासमा गौरवका साथ लिइन्छ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित नेतागण, वरिष्ठ स्रष्टाको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ गायक भक्तराज आचार्यसमेत उपस्थित थिए।
देवकोटाका विषयमा विद्यावारिधी गरेका डा महादेव अवस्थीले देवकोटाले ७० वर्षअघि नै समृद्धि, मानवीय सुख र राष्ट्रियताको जागरण कविताबाट पस्किएको जनाउँदै देश चलाउने नेताले समयमै ती कविता बुझिदिएको भए मुलुकले समृद्धि पाइसक्ने जिकिर गरे।
कवि तुलसी दिवसले उनको सरकारी निवासमा यसरी हालसम्म देवकोटा जयन्ती नमनाइएको समयमा प्रधानमन्त्रीको यस्तो अग्रसरताले साहित्यिक क्षेत्र सम्मानित भएको जनाए। प्रधानमन्त्री ओली संरक्षण रहेको उक्त प्रतिष्ठानले गत असारमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा त्रिदिवसीय हिमवतखण्ड कला, साहित्य सम्मिलन आयोजना गरेको थियो।