प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ।
तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार बिहान नष्ट गरिएको हो।
ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्वारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।
परिसरले पटाका विक्री वितरणमा संलग्न नौ जनालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही पनि सुरू गरेको छ।
परिसरले काठमाडौंलाई पटाकामुक्त बनाउन अभियाननै संचालन गरेको छ।
परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए।
उनले पटका पड्काउने तथा विक्रीवितरण गरेको पाइए प्रहरीलाई सूचना दिन पनि सबैलाई आह्वान गरे।
नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । परिसरका प्रमुख लामाले तिहारमा पड्काउने र त्यसबाट ठूलो धनजनको क्षति हुने देखिएपछि पटाकाको विक्री वितरणमा समेत कडा निगरानी राख्नु परेको पनि स्पष्ट पारे।