अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा १ करोड ९१ लाख रूपैयाँ सम्पत्ति आर्जन गरेकोले उनीविरूद्ध सोमबार विशेषमा मुद्दा चलाएको भन्दै अख्तियारले विज्ञप्ति जारी गरेको छ।
अख्तियारका अनुसार सिंह र उनको परिवारका सदस्यहरूको चलअचल सम्पत्ति, शेयर लगानी, बीमा, बैंक मौज्दात हिसाब गर्दा ३ करोड ५१ लाख ८२ हजार छ।
त्यसमध्ये सिंहको वैध आय १ करोड ६० लाख २१ हजार अठार रूपैयाँ देखियो। बाँकी १ करोड ९१ लाख ६१ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ।
'सिंहको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएकोले कानुन बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको छ,' अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
सार्वजनिक सेवाको पदमा रहेर सिंहले गैरकानुनी रूपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू श्रीमती गीतादेवी सिंह, छोराहरू अनुप कुमार सिंह र अचलकुमार सिंहको नाममा राखेका थिए। उनीहरूलाई पनि अख्तियारले मुद्दा लगाएको छ।
सिंह र उनको परिवारसँग रहेको अवैध सम्पत्ति जफत गर्न विशेष समक्ष अख्तियारले माग गरेको छ।