ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करिब २० देशको सहभागिता रहने जनाइएको छ।
सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैंगिक मूलप्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने इन्जिनिरिङ अध्ययन संस्थानका डीन प्रा त्रिरत्न ब्रजाचार्यले जानकारी दिए।
आर्थिक–सामाजिक विकास र वातावरणीय संरक्षणका लागि नवीकरणीय ऊर्जाको भूमिका महत्वपूर्ण हुने भन्दै विश्वव्यापीरूपमा यसतर्फ जोड दिइरहेको सन्दर्भमा नेपालमा पनि यस किसिमको सम्मेलनको आयोजनाबाट अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिका बारेमा जानकारी पाउन सकिने र सहयोगमा नयाँ सम्भावनाको खोजी गर्न मद्दत पुग्ने उनले बताए।
दिगो ऊर्जा विकासबाट सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न नीतिगत सुझाव, प्राविधिक ज्ञान तथा लगानीको सम्भावनाले सम्मेलन महत्वपूर्ण अवसर भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालको भनाइ छ।
यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौंमा सम्पन्न भएको थियो। सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा देश र विदेशका गरी करिब ८० वटा कार्यपत्र प्रस्तुत हुने र झण्डै २५० जना ऊर्जाविद्को सहभागिता रहने ऊर्जा अध्ययन केन्द्रका निर्देशक श्रीराज शाक्यले जानकारी दिए।