पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दमारचोकमा आईतबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुने ६ मध्ये ५ जनाको पहिचान भएको छ।
मृत्यु हुनेमा मोरङ सुन्दरहरैया १२ का ११ वर्षिया सुहन कार्की, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीया रामजित राई, गुल्मी हस्तीचौर गाउँपालिका २ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीया तीलक विष्ट र भारत बिहार श्रीनगरका विद्यानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
मृतकमध्ये एक जनाको पहिचान हुन सकेको छैन। धरानबाट भैरहवा जादै गरेको लु १ ख ८४५४ नम्बरको बस मोड सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ५१ जना घाईते भएका छन्।
घाईतेमध्ये ४२ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसमा करिब ६० जना यात्रु सवार थिए। गम्भीर घाईतेको मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ।
अन्यको मनकामना पोलिक्लिनिक कावासोतीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।