दशैं मनाउन आ-आफ्नो पूर्ख्यौली थलो गएपछि सुनसान बनेको बुटवल बजार शनिबारदेखि केही चहलपहल देखिन थालेको छ।
विभिन्न पेशा व्यवसायका कारण बुटवल आई बसोबास गरेकाहरु दशैं मान्न फुलपातीदेखि नै आफ्नो पूर्ख्यौली थलो फर्किने गर्छन्।
बुटवल तथा आसपासको क्षेत्रमा आई स्थायी रुपमा बसोबास गर्नेहरु पनि अधिकांश गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लाहरुबाटै आएकोले दशैं मनाउन जन्मस्थान नै फर्किने गर्छन्। जसले गर्दा बडादशैंको केही दिन बुटवल सुनसान बन्ने गर्छ।
नजिकै घर भएका र पेशा व्यवसाय गर्ने तथा जागिरेहरू दशैंको भोलिपल्ट नै फर्किने गरे पनि विद्यार्थी तथा कामको चाप नहुनेहरु अझै केही दिन गाउँघरमा रमाउने गर्छन्।
जसले गर्दा बुटवलको चहलपहल पुरानै अवस्थामा फर्किन भने अझै केही दिन लाग्नेछ। फुलपातीदेखि नै बाहिरिएका सर्वसाधारण शनिबारदेखि फर्किन थालेका छन्।
बिहीबार र शुक्रबार अत्यन्त पातलो चलेका सवारी साधनहरु शनिबार भने केही बाक्लो देखिएका छन् ।
आईतबारदेखि नै सरकारी कार्यालयसँगै अन्य कार्यालय पनि सञ्चालनमा आउने भएपछि त्यहाँ कार्यरत कर्मचारी पनि आज कार्यक्षेत्रमा फर्किने गर्दछन्। दशैं मान्न सर्वसाधारण एकैपटक घर फर्किँदा यात्रुले खचाखच भरिने सवारी साधन अब केहि दिन कार्यक्षेत्र फर्किँदा भरिने गर्छन्।
दशैं अगाडि ग्रामिण क्षेत्रमा जानेको भीड देखिन्थ्यो भने अबका केही दिन ग्रामिण क्षेत्र तथा पहाडी जिल्लाबाट तराईका जिल्लामा आउनेहरुको भीड हुने गर्छ।
विशेष गरी यस क्षेत्रका पहाडी जिल्लाहरु गुल्मी, अर्घाखांची, पाल्पा लगायत प्यूठान, पर्वत, वाग्लुङ, दाङ लगायतका जिल्लाहरुबाट सर्वसाधारण बुटवल आउने क्रम केहि दिन जारी रहन्छ ।
यता दशैंको प्रभाव साप्ताहिक हाटबजारहरुमा पनि देखिएको छ। तरकारी तथा फलफूलका ठेलाहरु सडक किनारमा फाट्टफुट्ट देखिने गरे पनि उपभोक्ताको उपस्थिति भने न्यून छ।
शनिबार बुटवल हाटबजारमा लाग्ने साप्ताहिक हाटमा उपभोक्ताको संख्या अत्यन्त न्यून थियो। अधिकांश परिवारमा माछामासुको प्रयोग धेरै हुने र तरकारी तथा फलफूलको जोहो समेत दशैं अघि नै गरिसक्ने भएकोले आज हाटबजार खाली देखिन्थ्यो।
दशैं सकिएसँगै दुर्गा मूर्ति विसर्जन
विजया दशमीका अवसरमा स्थापना गरिएका अस्थायी दुर्गामन्दिरका मूर्तिहरु धार्मिक परम्परा अनुसार स्थानीय नदी तथा पोखरीहरुमा विसर्जन गर्न थालिएको छ।
नव दुर्गाको सप्तमी तिथीदेखि पूजा आजाका लागि प्रदर्शनमा राखिएका यस्ता दुर्गा भवानी लगायत अन्य देवी देवताको माटोका मुर्तिहरुलाई बाजागाजाका साथ एकादशी पछि विसर्जन गर्ने परम्परा रहेको छ ।
दशैंको बेला मूर्ति स्थापना गर्न व्यस्त रहने सर्वसाधारण र्मूर्त विसर्जनमा पनि नाँच्दै गाउँदै सहभागी हुने गर्छन्। सर्वसाधारणले हरेकवर्ष ट्याक्टर तथा ट्रकमा राखि नजिकका नदि तथा पोखरीहरुमा मूर्ति विसर्जन गर्दै आएका छन्।
कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म नै दुर्गा मूर्तिहरु राख्ने गरिएपनि कतिपय स्थानमा भने दशैंको भोलिपल्ट नै विसर्जन गर्ने गरिन्छ। बुटवल ट्राफिक चोक बुद्धपथमा निर्माण गरिएको दुर्गामूर्ति पनि आज विर्सजन गरिएको छ ।
मूर्ति स्थापना स्थलबाट खालीखुट्टा राजमार्ग चौराहसम्म नाच्दै गाउँदै पैदल यात्रा गरि मूर्ति विसर्जनको लागि त्रिवेणी लगिएको हो ।
घटस्थापनासँगै स्थानीयहरुले स्थापना गरेको उक्त भजनकिर्तन गाउँदै विधीपूर्वक त्रिवेणीमा विसर्जन गरिएको दुर्गामूर्ति निर्माण समितिले जनाएको छ।
१५ देखि ५० हजार रुपैयासम्म खर्च गरी निर्माण गरिएका यस्ता सयौं मूर्तिहरु हरेक वर्ष यसैगरी नदि तथा पोखरीहरुमा विसर्जन गरिदै आएको छ ।