सबैको ध्यान चाडपर्व मनाउन केन्द्रित भइरहँदा सीमा क्षेत्रमा हुने अवैध सामान ओसारपसारका घटनाहरू पनि बढ्ने गरेका छन्।
चाडपर्वको समयमा सर्वसाधारणको आवतजावत बढ्ने र सुरक्षा निकाय समेत अरु सुरक्षा व्यवस्थापनमा सक्रिय रहेको मौका छोपी अवैध सामान तस्करमा संलग्नहरूको सक्रियता बढ्ने गर्छ।
सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल गुल्म रुपन्देही नं.३८ गुल्मको टोलीले भन्सार छली गरी ल्याउँदै गरेको सामान नवलपरासीबाट बरामद गरेको छ।
बुधबार बिहान करिब ५ बजेको समयमा नवलपरासीको बर्दघाट नगरपालिका ४ त्रिवेणीचोकबाट उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द बहादुर खातीको कमाण्डमा खटिएको १५ जनाको टोलीले पराल लोड गरेको ना.२ ख. ६१७५ नं. को ट्रकमा भन्सार छली लैजाँदै गरेको लेडिज कपडा र पर्दाको कपडा बरामद गरेको जनाएको छ।
प्रहरीले उक्त अवैध कार्यमा संलग्न ४ जनालाई पनि पक्राउ गरेको जनाएको छ। प्रहरीले ढुवानीमा प्रयोग गरिएको ट्रकसहित १५ लाख ३४ हजार ३ सय बराबरको सामान र ४ जना व्यक्तिलाई पनि आवश्यक कारबाहीको लागि बेलहिया भन्सार कार्यालय रुपन्देहीमा बुझाएको जनाएको छ ।