नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले महाबौद्ध नजिकैबाट ओखलढुंगा घर भएका ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुरलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए।
युवकको साथबाट प्रहरीले एक हजार दरका १० वटा नेपाली नोट बरामद गरेको हो।
महाबौद्धमा कपडा किनेपछि पसलेलाई दिएको नोटमा शंका लागेर प्रहरीलाई खबर गरेपछि बस्नेत पक्राउ परेका डिएसपी बोगटीले बताए।
जिल्ला अदालतबाट खोटा प्रचलनमा म्याद थप गरी अनुसन्धान सुरू भइसकेको छ।
डिएसपी बोगटीले भने,' हामी अनुसन्धान गरिरहेका छौं। अरु केहीको पनि संलग्नता देखिएको छ।'
परिसर काठमाडौंले गत जेठमा नक्कली नोटसहित नेपाल चलचित्रका निर्माता माधव वाग्लेलाई समेत पक्राउ गरेको थियो।