नुवाकोटको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ मंगलबार फूलपाती भित्र्याइएको छ। बिदुर नगरपालिका–२ मा रहेको तुलजा भवानी मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो।
नुवाकोटमा फूलपाती भित्र्याउने परम्परा मल्लकालदेखिकै हो। वि.सं. १८०१ साल असोज १५ गते तेस्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्र शाहीले बताए।
‘फूलपाती भित्र्याउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण रहेको छ, नुवाकोटको पनि उतिकै महत्व छ,’ उनले भने। सरकारी प्रतिनिधिसहितका सर्वसाधारणले सात तले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर जात्रासहित फूलपाती भित्र्याएका थिए। प्रसिद्ध तुलजामा फूलपाती भित्र्याउनुअघि फूलपाती ल्याउने स्थान र फूलपाती भित्र्याउने स्थानमा लिपपोत गरी चोखो बनाएर विशेष पूजापाठ गरिएको थियो।
सयौंको संख्यामा उपस्थित सर्वसाधारण सात तले दरबार परिसरबाट र्यालीसहित निस्केका थिए। फूलपाती लिन अशोकबाटिकास्थित धोवीधाराको चौतारामा पुगेका थिए। ल्याइएको फूलपाती लिएर तुलजा भवानीमा बाजागाजा गरिएको थियो।
सो अवसरमा तुलजा भवानीको मन्दिरमा सरकारीस्तरबाट एउटा बोका बली दिइएको थियो। कार्यक्रममा नेपाली सेनाको टुकडीले मंगल सलामी दिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धव थापा, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवर, नेपाली सेनाका रबिन्द्र केसी, बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायत विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।