केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चितुवाको छाला विक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
बैतडी सिगास गाउँपालिका २ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ४ का अनमोल तामाङ र काठमाडौं–२६ एक युवकलाई आइतबार कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाबाट एक थान चितुवाको छाला बरामद भएको सिआइबीले जनाएको छ। पक्राउ परेका सबैलाई कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं बुझाइएको ब्युरोले जनाएको छ। उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही थालिएको डिभिजन वनले जनाएको छ।